काठमाडौँ / नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको ६ अर्ब ६७ लाख रुपैयाँ खुद मुनाफाको तुलनामा यस वर्षको मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढेको हो।
कम्पनीका अनुसार समीक्षा अवधिसम्म कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको छ।
त्यस्तै, यस आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो। कुल आयमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) समीक्षा अवधिमा २० अर्ब ४८ करोड १ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढी हो।
त्यस्तै, कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा करअघिको मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ रहेको थियो। यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको छ। कम्पनीको प्रति शेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ।
ब्याज आय घट्दा पनि खुद मुनाफामा वृद्धि
नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा ब्याज आय ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ।
यद्यपि, GSM तर्फको राजस्वमा वृद्धि भएकाले कम्पनीको समग्र राजस्व बढेको छ। GSM तर्फको राजस्व गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
लागत तथा कम प्रतिफल प्राप्त हुने भए पनि कम्पनीले विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारको कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
