Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

दस्तुर कम लाग्ने भएपछि महिलाका नाममा उद्योग व्यवसाय दर्ता गर्ने क्रम बढ्दै

दस्तुर कम लाग्ने भएपछि महिलाका नाममा उद्योग व्यवसाय दर्ता गर्ने क्रम बढ्दै

अर्थ प्लस
दस्तुर कम लाग्ने भएपछि महिलाका नाममा उद्योग व्यवसाय दर्ता गर्ने क्रम बढ्दै

बागमती, जेठ ८ । केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको छ । सरकारले महिला सञ्चालक भएको उद्योग व्यवसाय दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो ।  

हाल दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ । जसमध्ये करिब ७० प्रतिशत महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए। 

पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढेको उनले जानकारी दिए । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा तीन सय २८ नयाँ उद्योग दर्ता भएकामा त्यसमध्ये एक सय ४८ व्यवसाय महिलाको नाममा दर्ता भएका छन् । 

यस्तै, चालु आवको वाणिज्यतर्फ दुई सय ९१ नयाँ व्यवसायी दर्ता हुँदा एक सय ६१ व्यवसायको सञ्चालक महिला रहेको छ । 

दर्ता भएका अधिकांश व्यवसाय जेनरल स्टोर्स, सिलाई कटाई टेलरिङ्ग, ब्यूटिपार्लर रहेका छन् । उद्योगतर्फ कृषि र माछा तथा पशुपालन रहेका छन् । 

‘‘घरकै काममा सीमित महिलालाई पहिला मालिक बनाउनु हुँदैन भन्ने मानसिकता थियो”, स्थानीय बुद्धिजीवी हरिप्रसाद रिजालले भने, ‘‘तर अहिले त्यो मानसिकता हट्दै गएकाले महिलालाई उद्योग व्यापारको मालिक बनाउन थालिएको छ ।”

यस अवधिमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँ सारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

वाणिज्यतर्फ १६ वटा को नामसारी, २५ वटा उद्योगको ठाउँ सारी, सात सय ७७ वटा उद्योगको पूँजी वृद्धि, एक हजार दुई सय १४ वटा उद्योगको नवीकरण, दुई सय सात वटा उद्योगको लगत कट्टा, तथा ४१ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले जानकारी दिए । 

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायतका शीर्षकबाट १० महिनामा रु दुई करोड ६३ लाख २२ हजार तीन सय ५२ राजस्व सङ्कलन भएको छ ।

गत आव २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ नयाँ उद्योग दर्ता, एक हजार ५६ उद्योगको नवीकरण, एक सय १० उद्योगको लगत कट्टा तथा वाणिज्यतर्फ चार सय ३० नयाँ दर्ता, एक हजार चार सय सात वटाको नवीकरण र एक सय ७३ वटाको लगत कट्टा गरिएको थियो । 

 

सम्बन्धित समाचार