काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा खुद नाफा १३०.०६ प्रतिशतले वृद्धि गर्दै ९६ करोड ६ लाख रुपैयाँ पुर्याएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १ अर्ब ६५ करोड रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ९० करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। कम्पनीको ब्याज खर्च भने घटेको छ। अघिल्लो वर्ष ५७ करोड ७ लाख रुपैयाँ रहेको ब्याज खर्च समीक्षा अवधिमा घटेर ४३ करोड ३० लाख रुपैयाँ कायम भएको छ।
कम्पनीले प्रशासनिक खर्चमा समेत कटौती गरेको छ। प्रशासनिक खर्च ४ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ करोड ८ लाख रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ।
यसैगरी, कम्पनीले गरेको लगानीको मूल्याङ्कनबाट हुने आम्दानी १२ करोड १७ लाख रुपैयाँबाट बढेर ४७ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
विद्युत बिक्री आम्दानीमा भएको वृद्धि, ब्याज तथा प्रशासनिक खर्चमा आएको कमी र लगानीको मूल्याङ्कनमा भएको वृद्धिलगायतका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको देखिन्छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ६.८७ रुपैयाँबाट बढेर १५.०६ रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रति सेयर नेटवर्थ ११०.१२ रुपैयाँबाट बढेर ११९.५१ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ रहेको छ।
