काठमाडौं। नेपालमा विदेशी लगानीकर्ताको उपस्थिति कमजोर भएको छैन। तर, नयाँ विदेशी पुँजी भित्र्याउने नेपालको क्षमता भने अझै अपेक्षाकृत कमजोर देखिएको छ। मुलुकमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ३४० अर्ब रुपैयाँ पुगे पनि एक वर्षमा खुद वैदेशिक लगानी प्रवाह ७.५ अर्ब रुपैयाँमा सीमित भएको छ।
नेपाल राष्ट्र बैंकको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, २०२४/२५ सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १२ अर्ब रुपैयाँ बराबरको कुल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो। तर, सोही अवधिमा विदेशी लगानीकर्ताले ४.७ अर्ब रुपैयाँ बराबरको लगानी फिर्ता लगेपछि खुद प्रवाह ७.५ अर्ब रुपैयाँमा सीमित भएको हो।
अर्कोतर्फ, २०२५ को मध्य जुलाईसम्म नेपालको कुल वैदेशिक लगानीको मौज्दात ३४० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यस्तो मौज्दात २.१ प्रतिशतले मात्रै बढेको हो।
यसले नेपालको विदेशी लगानीको चित्रमा एउटा महत्वपूर्ण अन्तर देखाउँछ नेपालमा पहिलेदेखि लगानी गरेका विदेशी लगानीकर्ता आफ्नो लगानी टिकाइरहेका छन्। तर, नयाँ विदेशी पुँजी आकर्षित गर्ने गति भने तीव्र बन्न सकेको छैन।
पुराना लगानीकर्तामै बढी भरोसा
नेपालमा रहेको कुल वैदेशिक लगानीको संरचनामा चुक्ता पुँजीसँगै पुनः लगानी गरिएको आयको हिस्सा उल्लेख्य रहेको छ।
कुल वैदेशिक लगानीको मौज्दातको एक तिहाइभन्दा बढी हिस्सा विदेशी लगानीकर्ताले नेपालमै पुनः लगानी गरेको आम्दानीबाट बनेको छ। विदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफाको ठूलो हिस्सा फिर्ता लैजानुको सट्टा यहीँ पुनः लगानी गरिरहेका छन्।
यसले नेपालमा सञ्चालनमा रहेका विदेशी लगानीका व्यवसाय तथा परियोजनामा विस्तारको सम्भावना रहेको देखाउँछ। तर, नयाँ लगानीकर्ता आकर्षित गर्न भने केवल नीतिगत घोषणा पर्याप्त नभएको संकेत पनि यसले गर्छ।
अर्थात्, नेपालको चुनौती विदेशी लगानीकर्तालाई नेपालमा ल्याउनु मात्रै होइन, उनीहरूलाई थप लगानी गर्न र नयाँ लगानीकर्तालाई नेपाल रोज्ने वातावरण बनाउनु हो।
भारत सबैभन्दा ठूलो स्रोत
स्रोत मुलुकका आधारमा भारत नेपालका लागि सबैभन्दा ठूलो वैदेशिक लगानीको स्रोत बनेको छ। त्यसपछि चीन, आयरल्यान्ड, अस्ट्रेलिया र सिङ्गापुर रहेका छन्।
यसले नेपालमा केही सीमित मुलुकको लगानीमा निर्भरता रहेको देखाउँछ। लगानीका स्रोत मुलुकलाई विविधीकरण गर्न नसक्दा अन्तर्राष्ट्रिय पुँजीको ठूलो हिस्सा केही देशमा मात्रै केन्द्रित हुने जोखिम रहन्छ।
उद्योग र ऊर्जामा बढी आकर्षण
क्षेत्रगत रूपमा औद्योगिक क्षेत्र नेपालको वैदेशिक लगानीको मुख्य आधार बनेको छ। उत्पादनमूलक उद्योग तथा जलविद्युत् र ऊर्जा क्षेत्रमा विदेशी लगानीको आकर्षण उल्लेख्य छ। सेवा क्षेत्रभित्र भने बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रमा विदेशी पुँजीको उपस्थिति बलियो छ।
यसले नेपालमा विदेशी लगानीकर्ताको प्राथमिकता उत्पादन, ऊर्जा तथा वित्तीय क्षेत्रतर्फ बढी रहेको देखाउँछ। तर पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य तथा अन्य उच्च मूल्य अभिवृद्धि गर्ने क्षेत्रमा लगानीको दायरा अझै विस्तार गर्नुपर्ने देखिन्छ।
बागमतीमै केन्द्रित विदेशी लगानी
नेपालमा विदेशी लगानीको भौगोलिक वितरण अर्को महत्वपूर्ण चुनौती बनेको छ। वैदेशिक लगानीको ठूलो हिस्सा बागमती प्रदेशमै केन्द्रित छ।
काठमाडौं उपत्यका तथा प्रमुख सहरी क्षेत्रमा पूर्वाधार, बजार, वित्तीय सेवा र प्रशासनिक पहुँच सहज भएकाले विदेशी लगानी त्यहीँ केन्द्रित भएको देखिन्छ।
तर प्रदेशगत रूपमा लगानी विस्तार गर्न नसक्दा वैदेशिक लगानीबाट सिर्जना हुने रोजगारी, उत्पादन र आर्थिक गतिविधिको लाभ देशका अन्य क्षेत्रमा समान रूपमा पुग्न सकेको छैन।
नीति सुधार भए पनि कार्यान्वयनमै समस्या
नेपालले विदेशी लगानी आकर्षित गर्न नीतिगत उदारीकरण, विद्युतीय आवेदन प्रणाली तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका व्यवस्था अघि बढाएको छ।
तर लगानीकर्ताले अझै व्यवहारिक तहमा विभिन्न समस्या सामना गरिरहेका छन्। पूर्वाधारको कमी, प्रशासनिक तथा कानुनी प्रक्रियामा हुने ढिलाइ र जग्गा प्राप्तिसम्बन्धी जटिलता विदेशी लगानी विस्तारका प्रमुख अवरोधका रूपमा देखिएका छन्।
यसको अर्थ नेपालमा लगानीसम्बन्धी नीति र कानुनी व्यवस्था मात्रै पर्याप्त छैन। स्वीकृतिपछि परियोजना सञ्चालन हुने समय, सरकारी निकायबीचको समन्वय र लगानी फिर्ता लैजाने प्रक्रियासमेत सहज बनाउनुपर्ने आवश्यकता छ।
