काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक १८.०७ अंकले बढेर २ हजार ५ सय ६०.८४ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको घटेको छ ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार भदौ १८ गते ३ अर्ब ४६ करोड ५१ लाख १ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा पियोर इनर्जीका लगानीकर्ता रहेका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सका लगानीकर्ता रहेका छन् । यी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले एक्वायर गर्ने भएसँगै यी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
