काठमाडौं। बाजेको सेकुवा लिमिटेडले पुँजी बजारमा प्रवेश गर्ने तयारी गरिरहेका बेला कम्पनीको ‘केयर–एनपी बीबीबी’ इस्युअर रेटिङ पुनः पुष्टि भएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई प्रदान गरेको उक्त रेटिङ पुनः कायम राखेको हो।
केयर–एनपी बीबीबी इस्युअर रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने मध्यम स्तरको क्षमता रहेको तथा कर्जा जोखिम पनि मध्यम रहेको संकेत गर्छ। कम्पनीको लामो सञ्चालन इतिहास, स्थापित ब्रान्ड, विस्तार हुँदै गएको फ्रेन्चाइज सञ्जाल, बढ्दो व्यवसायिक आकार तथा सुधारोन्मुख वित्तीय अवस्थालाई रेटिङ पुनः पुष्टि हुनुका प्रमुख आधार मानिएको छ।
रेटिङ संस्थाले कम्पनीको कम गियरिङ, पर्याप्त ऋण भुक्तानी क्षमता र छोटो सञ्चालन चक्रलाई समेत सकारात्मक पक्षका रूपमा औंल्याएको छ। पछिल्ला वर्षमा कम्पनीको वित्तीय सूचकमा सुधार देखिएको छ।
कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३/२४ मा ३३७ मिलियन रुपैयाँ रहेकामा आर्थिक वर्ष २०२४÷२५ मा बढेर ३९७ मिलियन रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०२५÷२६ मा भने यो बढेर ४५५ मिलियन रुपैयाँ पुगेको छ। सोही अवधिमा मार्जिन १३.७२ प्रतिशतबाट बढेर १६.६७ प्रतिशत हुँदै १७.९५ प्रतिशत पुगेको छ।
कम्पनीको समग्र गियरिङ पनि उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०२३/२४ मा २.३४ गुणा रहेको गियरिङ आर्थिक वर्ष २०२४÷२५ मा ०.३४ गुणा र आर्थिक वर्ष २०२५÷२६ मा ०.२२ गुणामा झरेको छ। त्यस्तै, ब्याज कभरेज अनुपात ३.०८ गुणाबाट बढेर क्रमशः ६.७३ गुणा र ७.०९ गुणा पुगेको छ।
कम्पनीले आगामी दिनमा तीव्र प्रतिस्पर्धा, खाद्य तथा अन्य कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र परिवर्तनीय ब्याजदरबाट उत्पन्न जोखिमको सामना गर्नुपर्नेछ। व्यवसायलाई नाफामूलक ढंगले विस्तार गर्ने क्षमता, कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन र ऋणको स्तर नियन्त्रणमा राख्न सक्ने क्षमतालाई आगामी दिनमा कम्पनीको रेटिङका महत्वपूर्ण संवेदनशील पक्षका रूपमा हेरिएको छ।
बाजेको सेकुवाले हाल २६ वटा आउटलेट सञ्चालन गरिरहेको छ, जसमा २० वटा फ्रेन्चाइज र ६ वटा कम्पनी स्वामित्वका आउटलेट छन्। कम्पनीको विस्तार रणनीतिमा फ्रेन्चाइज मोडलको महत्वपूर्ण भूमिका रहेको छ। अन्तर्राष्ट्रिय बजारमा भने कम्पनीले पूर्ण रूपमा फ्रेन्चाइज मोडलमार्फत विस्तार गरिरहेको छ। हाल विदेशमा सञ्चालनमा रहेका ६ वटै आउटलेट फ्रेन्चाइजअन्तर्गत सञ्चालनमा छन्।
फ्रेन्चाइजमा आधारित विस्तारले तुलनात्मक रूपमा कम पूँजी प्रयोग गरेर व्यवसाय विस्तार गर्न तथा नियमित रोयल्टी आम्दानी बढाउन सहयोग गरेको केयर रेटिङ नेपालको विश्लेषण छ।
बाजेको सेकुवाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को तयारी अघि बढाएको छ। आवश्यक प्रक्रिया पूरा गरी नियामकीय स्वीकृति प्राप्त भएपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने कम्पनीको योजना रहेको कम्पनीले बताएको छ।
