काठमाडौँ / भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने भएको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन्।
मन्त्री तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि भने प्रत्येक थप सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराइनेछ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मको परिवारलाई मासिक रु. १५,००० र थप प्रत्येक सदस्यका लागि रु. २,००० अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ।”
मासिक नगद भाडा सुविधा लिन नचाहने परिवारका लागि सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्पसमेत उपलब्ध गराएको मन्त्री तिमिल्सिनाले बताएका छन्।
उनका अनुसार यसका लागि आवश्यक विवरण तथा तथ्याङ्क संकलन गर्न सम्बन्धित सबै स्थानीय तहमा फाराम पठाइसकिएको छ।
