Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

अर्थ प्लस
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे प्रतिनिधिसभाको र दिउँसो सवा १ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभामा लोक सेवा आयोगको प्रतिवेदन पेस हुने

राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ ।

राष्ट्रियसभा बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची छन् ।

यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन् ।

पाँच संसदीय समितिको बैठक बस्दै

यस्तै, आज विभिन्न पाँच वटा समितिको बैठक बस्दैछ ।

निर्धारित कार्यक्रमअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

 

सम्बन्धित समाचार