Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

जलविद्युत्मा २१ अर्ब बढी लगानी स्वीकृत, दुई आयोजनालाई बोर्डको हरियो झन्डा

जलविद्युत्मा २१ अर्ब बढी लगानी स्वीकृत, दुई आयोजनालाई बोर्डको हरियो झन्डा

बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन

अर्थ प्लस
जलविद्युत्मा २१ अर्ब बढी लगानी स्वीकृत, दुई आयोजनालाई बोर्डको हरियो झन्डा

काठमाडौँ / लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले उक्त निर्णय गरेको हो।

बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागतको ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागतको ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

दुई परियोजनाको लगानी स्वीकृतिसँगै बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधानबमोजिम तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण र प्रभावकारी कार्यसम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ।

कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुर्‍याउने योगदानलाई समेत मध्यनजर गरी त्यस्ता परियोजनाको विकासलाई प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको छ।

सम्बन्धित समाचार