काठमाडौं । जीवन बीमा संघ नेपालका प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाज्यूलाई भेट गरी उहाँको नियुक्तिप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । भेटका क्रममा संघका प्रतिनिधिहरूले नवनियुक्त अध्यक्षज्यूको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप व्यावसायिकता, पारदर्शिता, संस्थागत सुशासन तथा दिगो विकासको दिशामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ । साथै, उहाँको अनुभव, कार्यक्षमता तथा नेतृत्वदायी भूमिकाले बीमा क्षेत्रको नियामकीय व्यवस्था थप प्रभावकारी, समयसापेक्ष र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ ।
सो अवसरमा जीवन बीमा क्षेत्रको वर्तमान अवस्था, यस क्षेत्रले सामना गरिरहेका चुनौतीहरू तथा अवसर, बीमाको पहुँच र दायरा विस्तार, बीमाप्रतिको जनविश्वास अभिवृद्धि, बीमा साक्षरता प्रवद्र्धन तथा सेवाको गुणस्तर सुधारलगायतका विषयमा समेत छलफल भएको थियो ।
संघका प्रतिनिधिहरूले बीमा क्षेत्रको विकास र विस्तारका लागि आवश्यक नीतिगत सुधार, व्यावहारिक नियामकीय व्यवस्था तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा नेपाल बीमा प्राधिकरणसँग निरन्तर सहकार्य र रचनात्मक साझेदारी गर्न जीवन बीमा संघ नेपाल प्रतिबद्ध रहेको धारणा व्यक्त गरेकोछ ।
नवनियुक्त अध्यक्षज्यूले संघका प्रतिनिधिहरूबाट प्राप्त बधाई तथा शुभकामनाप्रति आभार व्यक्त गर्दै बीमा क्षेत्रको समग्र विकास, स्थायित्व, पारदर्शिता तथा सुशासन अभिवृद्धिका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जीवन बीमा संघ नेपालले नवनियुक्त अध्यक्षज्यूको सफल, उपलब्धिमूलक तथा ऐतिहासिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा नेपालको बीमा क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दछ ।
