Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

लघुबीमा कम्पनी पनि आईपीओ निष्कासनकै बाटोमा,५ कम्पनीको तयारी

लघुबीमा कम्पनी पनि आईपीओ निष्कासनकै बाटोमा,५ कम्पनीको तयारी

अर्थ प्लस
लघुबीमा कम्पनी पनि आईपीओ निष्कासनकै बाटोमा,५ कम्पनीको तयारी

काठमाडौं, जेठ  १७ । पछिल्लो पटक सञ्चालनमा आएका लघुबीमा कम्पनीले पनि प्राथमिक शेयर निष्कासन(आईपीओ) गर्ने तयारी शुरु गरेका छन् ।

नियामकबाट लघुबीमा व्यवसाय गर्न अनुमति पाएका सात वटा लघु जीवन बीमा र निर्जीवन बीमा कम्पनीमध्ये पाँच वटा कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएका हुन् । ती कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराइसकेका छन् ।

हालैमात्र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका छन् । ती दुवै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धक  पनि नियुक्त गरिसकेका छन् । 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन  गर्ने तयारीमा छ । कम्पनीले धितोपत्र शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्याफिटललाई नियुक्त गरेको छ ।

 

यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले  पनि  आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेका ती कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन् । 

नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा स–साना ऋण प्रवाह गर्ने गरी लघुवित्त कम्पनीको सञ्चालन अनुमति दिएजस्तै गत वर्ष मात्रै नेपाल बीमा प्राधिकरणले पनि लघुबीमा कम्पनीलाई पनि व्यवसाय सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले गत मंसिर ११ गते तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो ।

लघुजीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छन् भने निर्जीवन लघु बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी छन् ।

प्राधिकरणले लघुबीमा निर्देशिका, २०७६ लाई संशोधन गर्दै ५ लाख रूपैयाँसम्मको लघुबीमा पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरेको छ । लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ छ ।

 लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् ।

निर्जीवन बीमा कम्पनीहरुले ल्याएका लघुबीमा योजना प्रभावकारी नभएको र ती कम्पनीहरु शहरमा मात्रै केन्द्रित भएको जनगुनासो आएपछि सरकारले छुट्टै लघु बीमा कम्पनी खोल्ने व्यवस्था गरेको हो ।

 

सम्बन्धित समाचार