काठमाडौं, असार १० । यूरोपियन यूनियन(ईयू) का नियामकहरुले एप्पलले ठूला टेक कम्पनीहरुमाथि लगाम लगाउन बनाइएको नयाँ कानूनको उल्लघंन गरेको आरोप लगाएका छन् ।
ईयूमा अस्वस्थ प्रतिस्पर्धालाई नियमन गर्ने यूरोपियन कमिसनले एप्पलको एप स्टोरले प्रतिद्वन्द्वी बजारलाई दबाबमा पारेको बताएको छ ।उसले डिजिटल मार्केट्स एक्ट (डीएमए) को उल्लंघन गरेको बताइएको छ । नियमको पालना गर्न नसकेमा कम्पनीले आफ्नो विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । 'हाम्रो योजना र कानूनको पालना गर्नेमा हामी विश्वस्त छौं',एप्पलले भनेको छ ।
टेक जायन्टलाई अनुसन्धानमा देखिएका प्रारम्भिक निष्कर्षहरूको समीक्षा गर्ने अवसर दिइएको छ । यदि यसले ईयूलाई चित्तबुझ्दो जवाफ दिएको खण्डमा चर्को जरिवानाबाट जोगिन सक्छ । यूरोपियन कमिसनका अनुसार डेभलपरहरुले एप्पलले सञ्चालन गरेको एप स्टोरभन्दा सस्तो एप स्टोर उपलब्ध हुँदा ग्राहकलाई स्वतन्त्र रुपमा प्रयोग गर्ने सक्ने बताउनुपर्ने थियो। यसअघि मार्चमा इयूले त्यस्तो विकल्पका लागि अनुमति दिन भनेको थियो ।
कम्पनीले आफ्नो एप स्टोरमा डेभलपर्ससँग औसत ३० प्रतिशत कमिसन लिने गरेको छ । ईयूका आयुक्त थियरी ब्रेटनले भने, 'हामीसँग विश्वास गर्ने कारण छ, एप स्टोरको नियमले एप डेभलपरहरूलाई उनीहरूका आफ्नै प्रयोगकर्ताहरूसँग स्वतन्त्र रूपमा कुराकानी गर्न पनि अनुमति दिँदैन।'
कमिसनले एप्पलको शुल्कमा कडाईका साथ आवश्यकभन्दा बढी भएको आरोप पनि लगाएको छ । यसको जवाफमा एप्पलले डीएमएको पालना गर्नका लागि पछिल्ला केही महिनामा परिवर्तनहरू गरेको बताएको छ । 'हामीले बनाएको नयाँ व्यावसायिक सर्तअन्तर्गत ९९ प्रतिशतभन्दा बढी डेभलपरले एप्पललाई समान वा सोभन्दा कम शुल्क तिर्ने अनुमान गरेका छौं', एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एप्पलको अर्को मुख्य तर्क के छ भने प्रयोगकर्ताहरूले आधिकारिक एप स्टोरमा रहँदा कडा सुरक्षा उपायहरूबाट फाइदा लिन सक्छन्। जवाफमा इयूले सुरक्षाका विषयमा खुसीसाथ छलफल गर्ने बताएको छ । बीबीसी
