काठमाडौं, असार १७ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्री जिरो क्लब प्रवर्द्धन गरे बापत अन्तरराष्ट्रिय अवार्ड पाएको छ ।
फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरू मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तरराष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो ।
यसअघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि उक्त कम्पनीले अन्तरराष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको थियो । शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खूद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता एवं लघुवित्तका पिताका रुपमा परिचित मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) को अवधारणा अघि बढाएका हुन् ।
कम्पनीले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्छ । वातावरण संरक्षण र अति विपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब सक्रिय छन् । थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको भन्दै सो अवसरमा कम्पनीका प्रतिनिधिलाई थ्री जिरो क्लब कन्भेन्सनका प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेका थिए ।
सो अवसरमा कम्पनीका तर्फबाट सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी सहभागि थिए ।
