Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

आँखुखोला जलविद्युतको शेयरमा किन लाग्यो सर्किट ? यस्तो छ कारण

आँखुखोला जलविद्युतको शेयरमा किन लाग्यो सर्किट ? यस्तो छ कारण

अर्थ प्लस
आँखुखोला जलविद्युतको शेयरमा किन लाग्यो सर्किट ? यस्तो छ कारण

काठमाडौँ, असार २० । साताको अन्तिम कारोबार दिन बिहीबार आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएसँगै लगानीकर्ताहरु कम्पनीतर्फ आकर्षण भएका हुन् । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २०९ रुपैयाँबाट शुरु भएकोमा १० प्रतिशतले मूल्य बढेपछि २२७ रुपैयाँ पुगेको छ । कम्पनीको २ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

कहि ठूला  लगानीकर्ताहरुले बजार खुल्नुअघि नै नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको भन्ने भित्री सूचना पाएपछि कम्पनीको ठूलो परिणाममा शेयर उठाएको बढ्दो कारोबारले देखाउँछ । किनकि अघिल्लो कारोबार दिन बुधबार भने उक्त कम्पनीको शेयरमूल्य झण्डै २ प्रतिशतले घटेको थियो । उक्त दिन कम्पनीको कारोबार ३ करोड ५८ लाख रुपैयाँ बराबर भएको थियो । 

धितोपत्र बोर्डले उक्त कम्पनीलाई गत असार ११  गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले धितोपत्र बोर्डबाट हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । अब कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा  नबिल इन्भेष्टमेन्ट बैंकिङ छ । 

कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ। 

कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति मागेकोमा यसअघि विद्युत नियमन आयोगबाट १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँ छ ।

सम्बन्धित समाचार