Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

समता घरेलु लघुवित्तमा गाभियो मनकामना स्मार्ट लघुवित्त, एकीकृत वित्तीय कारोबार शुरु

समता घरेलु लघुवित्तमा गाभियो मनकामना स्मार्ट लघुवित्त, एकीकृत वित्तीय कारोबार शुरु

अर्थ प्लस
समता घरेलु लघुवित्तमा गाभियो मनकामना स्मार्ट लघुवित्त, एकीकृत वित्तीय कारोबार शुरु

काठमाडौँ, असार २४ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई गाभेर सोमबारदेखि औपचारिक रुपमा एकीकृत वित्तीय कारोबार शुरु गरेको छ ।गाभिए पश्चात दुवै कम्पनीले सोमबारदेखि एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेका हुन् । 

समता घरेलु लघुवित्त वित्तीय संस्थाका अध्यक्ष डम्बरमणि थेबे लिम्बु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यको प्रमुख आतिथ्यतामा भएको एकीकृत वित्तीय कारोबारको अवसरमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, पूर्व अध्यक्ष बसन्तराज लम्साल, गाभिने संस्था मनकामना स्मार्ट लघुवित्तका अध्यक्ष अजय गोयन्का, संयुक्त प्राप्ति समितिका संयोजक हरिबहादुर भण्डारी लगायतले शुभकामना दिएका थिए ।

समारोहमा दुवै कम्पनीका सञ्चालक, शेयरधनी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु लगायतको उपस्थिति थियो ।समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेश स्तरको लघुवित्त कम्पनी हो । ती दुई कम्पनीबीच गत भदौ ७ गते गाभ्ने/गाभिने निर्णय भएको थियो । समताले मनकामनालाई १ः१ शेयर स्वाप रेशियोमा गाभेको हो ।

एकीकृत वित्तीय कारोबारपश्चात काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ९९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरेले जानकारी दिएका छन् । कम्पनीको चुक्तापूँजी जारी हुन लागेको एफपीओसहित ५९ करोड ९० लाख ९० हजार ७२८ रुपैयाँ पुगेको छ ।

कम्पनीले ८१ हजार ५३६ जना सदस्यहरुलाई वित्तीय सेवा पुर्याएको र ४ अर्ब ३८ करोड ९० लाख कर्जा लगानी तथा १ अर्ब ४० करोड ५१ लाख रुपैयाँ बचत संकलन गरेको छ ।

ती दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति  दिएको थियो ।समता घरेलु लघुवित्त संस्था बिगतमा दुई वटा संस्था गाभिएर बनेको संस्था हो भने मनकामना स्मार्ट लघुवित्त पनि दुई वटा संस्था गाभिएर बनेको हो ।  

 

सम्बन्धित समाचार