Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रधानमन्त्रीको निर्देशन कुलमानद्वारा अवज्ञाः जोड्न मानेनन् बिल भुक्तानी नभएका उद्योगको लाइन

प्रधानमन्त्रीको निर्देशन कुलमानद्वारा अवज्ञाः जोड्न मानेनन् बिल भुक्तानी नभएका उद्योगको लाइन

अर्थ प्लस
प्रधानमन्त्रीको निर्देशन कुलमानद्वारा अवज्ञाः जोड्न मानेनन् बिल भुक्तानी नभएका उद्योगको लाइन

काठमाडौँ, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएको ६ उद्योगको लाइन जोड्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रवार अपराह्न ऊर्जामन्त्री दिपक खड्का एवम् उद्योगमन्त्री दामोदर भण्डारीसहित प्राधिकरणका पदाधिकारी र उद्योगीहरूसँग छलफल गरी कुनै पनि हालतमा काटिएको लाइन शुक्रवार नै जोडिदिन निर्देशन दिएका थिए । सोही बैठकमा घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएपछि प्रधानमन्त्रीले आजै बोर्ड बैठक राख्न भनेका थिए ।

प्रधानमन्त्रीसँगको बैठकमै बोर्ड अध्यक्ष उर्जामन्त्री, सदस्य उर्जासचिव तथा कार्यकारी निर्देशक घिसिङसहित ३ जना उपस्थित नै रहेको र थप दुई बोर्ड सदस्यलाई समेत बोलाएर बैठक बस्न र लाइन जोडिदिन प्रधानमन्त्रीले कडा निर्देशन दिएका थिए । सोअनुसार अध्यक्ष तथा उर्जामन्त्री दिपक खड्काले बोर्ड बैठक राखे । तर, सो बैठकमा घिसिङले पुनः लाइन जोडिदिने निर्देशन उर्जा मन्त्रालयबाटै आउनुपर्ने अड्डी राख्दै सो निर्णय हुनै नदिएको बोर्ड स्रोतले जानकारी दियो ।

उद्योगीहरूले बिलको आधार र टीओडी मिटरको तथ्यांक उपलब्ध नगराईकन महसुल नतिर्ने अडान राख्दै आएका छन् । त्यसपछि अहिले प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले ज्यादती गरेको भन्दै बाँकी उद्योगका सञ्चालकहरूले आफैं लाइन काटेका छन् ।

प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले डेडिकेटेड र ट्रंकलाइन बापतको बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुबाट ६ अर्ब ६० करोड बक्यौता नतिरेको भन्दै उद्योगको बिजुली काट्न थालेको छ ।

पछिल्लो दिन प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलको लाइन काटेको थियो । डेडिकेटेड र ट्रंकलाइन बापतको महशुल नबुझाउने ६१ उद्योगको बिजुली क्रमशः काटिने प्राधिकरणले जनाएको छ ।

 

सम्बन्धित समाचार