काठमाडौँ, साउन ७ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।
सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै मौद्रिक नीति आउने बताएका हुन्। उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए ।
अर्थमन्त्री पौडेलले होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको पनि बताए । उनले नीतिको निरन्तरता हुन नसक्दा समस्या अर्थतन्त्रमा समस्या सृजना भएको बताए ।
अर्थमन्त्री पौडेलले भने, ‘यहाँहरुले राख्नुभएका समस्याहरुमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ । सामान्यतया अहिलेको समस्यालाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ।’
उक्त अवसरमा हानका अध्यक्ष विनायक साहले मुलुकमा ३०-३५ लाख पर्यटकलाई सेवा दिन सकिने भएता पनि वर्षेनी १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे । साथै उनले होटल व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन पनि आग्रह गरे ।
