काठमाडौँ, साउन १० । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ। शुक्रबार बिहान राष्ट्र बैंक संचालक समितिको बैठकले स्वीकृति दिएपछि भोलि नै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुनेछ।
मौद्रिक नीति कस्तो आउनेछ भन्ने धेरैको चासो रहेको देखिन्छ। केहिले मौद्रिक नीति हदैसम्मको लचिलो आउने अपेक्षा गरेका छन् भने कहिले विगतभन्दा थोरै सहज मौद्रिक नीति आउने अपेक्षा गरेका छन्।
तर राष्ट्र बैंकका एक अधिकारीकाअनुसार भने केहि खास खास बिषयलाई मात्रै चलाएर यस पालिको मौद्रिक नीति सार्वजनिक हुनेछ। मौद्रिक नीति मार्फत विशेषगरि उत्पादन, पर्यटन र निर्माण क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्संरचनाको सुविधा दिइने तर अन्य बिषयमा भने सामान्य सहजीकरण हुनेछ।
उनकाअनुसार बहुप्रतिक्षित शेयर धितो कर्जामा लगाइएको सिमा हट्नेछैन तर तोकिएको १५/२० करोडको कर्जा सिमा भने केहि बढाउँने प्रयास हुनेछ। त्यस्तै घरजग्गा कर्जाको लागि कायम अनुपातमा समेत केहि हदसम्म लचिलो नीति हुनेछ। "राजनीतिक दलका नेताको दबाब भन्दा पनि नेपालको बजारमा कुनै पनि क्षेत्रमा बबल हुनुहुदैन भन्नेमा राष्ट्र बैंकको ध्यान केन्द्रित छ, त्यहीअनुसार नै मौद्रिक नीति आउनेछ" ति अधिकारीले भने।
