बिहीबार, पुस २५, २०८१
काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम ०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।
‘यो आँखा र कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा मात्र हुन्छ’, रावलले भने, ‘मलाई आश्चर्य लाग्छ । सरकारमा म पनि गएको थिएँ । तर यतिसारो आँखामा पटिट लगाएर जनता सबै मूर्ख छन् म मात्र सर्वज्ञाता छु भन्ने कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’ सरकार सञ्चालन गर्ने र महत्त्वपूर्ण पदमा बस्नेले देशलाई आफ्नो हितअनुकूल प्रयोग गरेको आरोप समेत उनले लगाए ।
रावलले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेती मौलाइरहेको टिप्पणी गरे । उनले देशभक्तले मुलुकमा स्थापित गरेको जगलाई भत्कन नदिन एक भई डटेर सामना गर्नुपर्ने धारणा राखे ।
