आइतबार, १३ माघ २०८१,
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ ।
शनिबार मध्यरातिसम्मको गणनामा अध्यक्षका उम्मेदवारद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
लुम्बिनी प्रदेशमा विजयप्रकाश शर्माले सबैभन्दा बढी ८७ मत पाएका छन् । अर्का अध्यक्षका उम्मेदवार ६६ मत पाएका छन् । यसैगरी सुदिन पौडेलले २२ मत पाउँदा उपदेश यादवले जम्मा १० मत पाएका छन् ।
यस्तै कर्णाली प्रदेशमा सापकोटा र राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । पौडेलले ८ मत ल्याउँदा यादवले ५ मत पाएका छन् ।
यता कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो जानकारी अनुसार यहाँ राई सबैभन्दा अगाडि छन् । २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन् । सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन् ।
मधेस प्रदेशमा ७३ मत गणना हुँदा यादवले अग्रता लिएका छन् । उनले ३० मत पाउँदा सापकोटा र राईले २०-२० मत पाएका छन् । यसैगरी सुदूरपश्चिममा सापकोटा ५९ मतले अग्रता लिएका छन् । राईले ५९ मत पाउँदा यादवले २२ मत पाएका छन् ।
बागमती प्रदेशमा विजय सापकोटाले ८७ मत पाउँदा उपेदशले ५१ मत पाएका छन् । हेमन्तले १७ र सुदिनले १७ मत पाएका छन् । विशेष र विश्वविद्यालयको मतगणना हुन बाँकी छ ।
