Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

काठमाडौँ महानगरद्वारा ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने प्रविधि जडान

काठमाडौँ महानगरद्वारा ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने प्रविधि जडान

काठमाडौँ महानगरद्वारा ३६ ठाउँमा यात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने प्रविधि जडान

२०८१,माघ २३ गते
काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौँ महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो ।

पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए । उनकाअनुसार पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सकिनेछ ।

उनले भन्नुभयो, ‘सलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई थिचिँदैन यसले काम गर्दैन । थिचेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभाबी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौँ । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडी रोकिन्छ । र ढुक्कका साथ बाटो काट्न सक्छ । यात्रुको सुरक्षालाई मध्यनजर गरेर काठमाडौँ महानगरपालिकाले यो कामहरू गर्न थालेको हो ।’

सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुसी भएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसकी विद्यार्थी सन्ध्या बस्नेतले उक्त प्रविधिले सडक दुर्घटना कम हुने विश्वास लिइन् । पद्मकन्या अगाडिको सडकमा महिनैपिच्छे दुर्घटना हुने भएको कारण काठमाडौँ महानगरको यस कार्यको प्रशंसा गरिन् ।

पद्मकन्या बहुमुखी क्याम्पसको जनसंख्या अध्ययन विभागकी प्रमुख भगवती सेढाईंले सडक दुर्घटनामा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर उक्त प्रविधि सञ्चालनमा आएको बताइन् । उनले सडक सुरक्षाको मापदण्डमा काठमाडौँ महानगरले अवलम्बन गरेको उक्त मापदण्ड सबैभन्दा उत्तम रहेको बताइन् ।

काठमाडौँ महानगरपालिकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।

सम्बन्धित समाचार