२०८१,फागुन ७ गते
काठमाडौं। आज ७५ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनाको भएको दिनको अवसरमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस औपचारिक रुपमा मनाउने गरिन्छ ।
निरकुंश राणाशासनको विरुद्धमा प्रजातन्त्रको पक्षमा आन्दोलनमा होमिदा कैयौं वीर सपुतहरुले ज्यान गुमाएका छन् । उनीहरुको बलिदानीको जगमा स्थापित प्रजातन्त्रले हामीलाई राजनीतिक स्वतन्त्रता दिलाएको हो । तर, प्रजातन्त्र स्थापनाको ७५ औं वर्षमा समेत मुलुकमा राजनीतिक स्थायित्व र विकासले गति लिन सकेको छैन । मुलुक अनेकौं समस्याले आक्रान्त छ ।
देशको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गइरहेको छ । बेरोजगारी समस्याले युवाहरुको विदेश पलायनको दर विकराल बनेको छ । यसले कालान्तरमा युवाविहीन देश बन्ने हो कि भन्ने संशय बढाएको छ । राज्य सञ्चालकहरु यसप्रति कुनै चासो दिएका छैनन् । उनीहरु आफ्नो सत्ता टिकाउने ध्याउन्नमा केन्द्रित छन् । यसले वर्तमान व्यवस्थाप्रति नै वितृष्णा मौलाएको छ ।
आधुनिक नेपालको प्रजातान्त्रिक प्रणालीको प्रथम चरणका रुपमा राणा शासन हटाएर प्रजातन्त्र आएको अवधिलाई मानिन्छ । त्यसपछि पनि विभिन्न आन्दोलन चल्दै मुलुक अहिले गणतान्त्रिक व्यवस्थामा आइपुगेको छ । तथापि, विगतका समस्याले मुलुक र जनता मुक्त हुन सकेका छैनन्। झनै समस्या बढ्दै जाँदा जनतामा हरेक व्यवस्था आए पनि केही नहुने रहेछ भन्ने भाष्य बलियो बन्दै छ ।
यसलाई निराकण गरी जनतालाई अनुभूत हुने गरी राज्य सञचालकहरुले ठोस कार्यक्रम ल्याउन नसके प्रजातन्त्र प्राप्तिको गौरब गाथा गाएर मात्रै जनताले पत्याउनेवाला छैनन । तसर्थ, शासन सत्तामा रहेकाहरुले जनताका समस्या समाधानमा केन्द्रित भएर साँच्चिकै प्रजातन्त्र प्राप्तिको प्रत्याभूति दिलाउन जरुरी छ ।
