Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मर्जरका लागि इच्छुक गार्डियन माइक्रो

मर्जरका लागि इच्छुक गार्डियन माइक्रो

मर्जरका लागि इच्छुक गार्डियन माइक्रो

२०८१,फागुन १८ गते
काठमाडौं । प्राथमिक शेयर निष्काशन गरेको दुई महिना पुरा नहुँदै गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने इच्छा देखाएको छ । कम्पनीले आगामी चैत ११ गते दोस्रो वार्षिक साधारण सभामा अन्य कम्पनीसँग गाम्ने गाभिने प्रस्ताव लैजाने भएको हो । कम्पनीले साधारण सभाको नोटिस जारी गर्दै साधारण सभामा मर्जरको प्रस्ताव लैजाने उल्लेख गरेको छ । 

गार्डियन लघु बीमा कम्पनी २०७९ चैत देखि औपचारिक रुपमा सञ्चालन आएको हो । सञ्चालनको दुई वर्ष नपुग्दै कम्पनीले मर्जरको प्रस्ताव गरेको छ । कम्पनीले राखेको मर्जरको प्रस्ताव सामान्य बिषय भएको कम्पनीका सूचना अधिकारी ज्योति प्रकाश पाण्डेले बताए । साधारण सभाले पारित गर्दैमा कम्पनी मर्जरमा जाने मनस्थितिमा नभएको उनले स्पष्ट पारे । ‘साधारण केही बिषय प्रस्ताव गर्नै पर्छ । भोलिका दिनमा कदमकदाचित मर्जरमा जानु परेमा विशेष साधारण सभा बोलाउनु भन्दा अहिले नै प्रस्ताव पारित गर्न खोजिएको मात्रै हो । मर्जरको ढोका खोल्न मात्रै प्रस्ताव गरिएको हो,’ उनले भने । 

तर, ढिलोचाँडो लघुबीमा कम्पनी मर्जरमा जाने बीमा क्षेत्रका जानकारहरू बताउँछन् । लघु बीमा कम्पनी व्यवसाय गर्न भन्दा पनि निश्चित व्यक्तिले फाइदा उठाउनका लागि खोलिएको कम्पनी भएको एक बीमा कम्पनीका पूर्व कार्यकारी अधिकृतले बताए । ‘नेपालमा भएका  लघु बीमा कम्पनीले न त लघु बीमा व्यवसाय गरेका छन् । न त लघुबीमा गरेर नाफा नै कमाउन सक्छन् । यो त निश्चित व्यवसायीक घरानाले आफ्नो फाइदाका लागि खोलेको कम्पनी हो,’ उनले भने । 

न्यून आए भएका व्यक्तिमा पनि बीमा पहुँच पुराउने भन्दै बीमा प्राधिकरणले दुई वर्ष अघि सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सात कम्पनीलाई सात प्रदेश तोकेर कार्य सञ्चालनको अनुमति दिए पनि कम्पनीहरूले मुख्य व्यवसायीक केन्द्र  काठमाडौलाई नै बनाएका छन् ।  सानो रकमको बीमा गर्नै भनेर सञ्चालन अनुमति दिए पनि मोटर बीमा, वैदेशिक रोजगार बीमा जस्ता ठूला दायित्वको बीमा गर्ने अधिकार दिएपछि ठूला कम्पनीहरू भने रुष्ट बनेको छन् । 

कम्पनीले गत पुस २१ गते सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । १४ कारोबार दिनमा अहिले कम्पनीको शेयर मूल्य एक हजार १४२ रुपैयाँ पुगेको छ । 

कम्पनीले रेटिङ एजेन्सी केयर नेपालबाट आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्राप्त गरेको थियो । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको मान्यता २०८२ साउन २१ सम्म रहनेछ । 

कम्पनी २०७९ चैत २७ देखि सञ्चालनमा आएको हो । कम्पनीको अधिकृत पुँजी ८० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ । आइपीओ निस्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् ७५ करोड रुपैयाँ पुग्नेछ । आईपिओ पछि संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको हिस्सा ३० प्रतिशत रहनेछ । 

कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म ६४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०८२/८३ सम्म ९७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ सम्म १ करोड १५ लाख ८० हजार रुपैयाँ कमाउने जनाएको छ । 

चालु आवको अन्त्यसम्म प्रतिसेयर आम्दानी २५ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८३/८४ सम्ममा प्रतिसेयर आम्दानी १ रुपैयाँ ५४ पैसा हुने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ ।

सम्बन्धित समाचार