२१ फागुन, काठमाडौं । सरकारले माघ १८ गते संसद्मा पेस गरेको ६ मध्ये पाँचवटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश बहुमतले स्वीकृत भएको हो । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ ।
२९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो ।
गत १४ पुसमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसलाई प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो ।
अध्यादेश बिहीबारको राष्ट्रियसभा बैठकबाट स्वीकृत गर्ने तयारी छ । राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ः१५ मा बोलाइएको छ । उक्त सभाबाट पनि अध्यादेश स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ । अध्यादेश सदनमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने हुन्छ । नभए स्वतः निष्क्रिय हुने कानुनी व्यवस्था छ ।
