२०८१, फागुन २३ गते
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन ।
नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।
उक्त आईपीओमा अन्तिम दिनसम्ममा १८ लाख १७ हजार १४८ जनाले कुल २ करोड २४ लाख ४६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ । कुल सदर १८ लाख ६ हजार ७६२ आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका छन ।
नेपाल माइक्रोले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।
