काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ। देशभरका २०८० परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ भने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्।
परीक्षालाई व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ। त्यस्तै जापानमा रहेका नेपाली विद्यार्थी र कारागारभित्रका विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र पठाइएको छ।
परीक्षा सुरक्षित रूपमा सञ्चालन गर्न देशभर ३० हजार सुरक्षाकर्मी र ७७ हजार ८०० कर्मचारी खटिएका छन्, परीक्षार्थी संख्याका आधारमा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६०० विद्यार्थी सहभागी छन् भने मनाङबाट सबैभन्दा कम ४३ जना छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको नतिजा ९० दिनभित्र अर्थात् आगामी असार ७ गते सार्वजनिक गरिनेछ। नतिजा प्रकाशन हुने मिति परीक्षाअगावै तोकिएको यो पहिलो चोटी हो।
