काठमाडौं, चैत ११ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका सरसफाइ कर्मचारीहरूको तलब नपाएको विषयमा कडा अभिव्यक्ति दिएका छन्।
उनले सरकारलाई चेतावनी दिँदै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
“को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु ! त्यसपछि हेरौँला तिमीहरूको के के तन्त्र हो!”,बालेनले भनेका छन् ।
उनले सरकारको उदासीनता र कर्मचारीको समस्याप्रति देखाएको लापरवाहीप्रति आक्रोश पोखेका छन्। महानगरका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको गुनासो सार्वजनिक भइरहँदा मेयर शाहको यस्तो अभिव्यक्ति आएको हो।
सरसफाइ कर्मचारीहरूले आफ्नो दैनिक जीवनयापनमा समस्या भोग्नु परेको बताउँदै सरकार र सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्। कर्मचारीहरूले समयमै तलब नपाउँदा काठमाडौंको फोहोर व्यवस्थापनमा समेत असर पर्ने चेतावनी दिएका छन्।
