बुधबार, २० चैत २०८१
काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा वारपारको शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत २ लाख शिक्षक राजधानीका सडकमा उतारेर माग पूरा नहुँदासम्म अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।
आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए।
आज दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ।
भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए। काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताए ।
यो आन्दोलन अवधिमा नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका निकाय एवम् स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यकम एवम् उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण जस्ता कार्यमा समेत संलग्न नहुन सबै शिक्षक-कर्मचारीलाई आग्रह पनि गरेका छन् ।

