बुधबार, ३१ बैशाख २०८२
पोखरा । पोखरामा बस दुर्घटना भएको छ। पोखरा महानगरपालिका-२२ स्थित विश्व शान्ति स्तूपनजिकै बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको नगरबस दुर्घटना भएको हो।
२६ जना सवार बस दुर्घटना हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।
उनका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
