Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

रवि लामिछाने थुनामै रहने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

रवि लामिछाने थुनामै रहने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

अर्थ प्लस
रवि लामिछाने थुनामै रहने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ, जेठ ९ । रास्वपा सभापति रवि लामिछाने अब केही समय थुनामै रहने भएका छन् । उच्च अदालत तुलसीपुरले दिएको आदेश सर्वोच्चले पनि शुक्रबार राति सदर गरेपछि उनी थुनामुक्त हुने प्रयास असफल भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेको थुना गैरन्यायिक नभएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्न अस्वीकार गरेको हो । तुलसीपुर आदेशलाई सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । 

यससँगै लामिछानेको थुना अवधि अब अनिश्चित भएको छ । उनले थुनामुक्त हुन अदालतकै फैसलाबाट सफाइ पाउनुपर्ने वा सजाय अवधि काट्नुपर्ने हुन्छ । जिल्ला अदालतबाट एक करोड धरौटी भएको मुद्दामा धरौटीको आदेश बदरको माग गर्दै लामिछाने उच्च अदालत गएका थिए । उच्च अदालतबाट थुनाको आदेश भएपछि चैत २२ देखि थुनामा छन् । 

उनले उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएपछि अर्को सुनुवाइ नहुँदै लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । 

पति लामिछानेलाई गैरन्यायिक थुनामा राखिएको भन्दै दायर रिट वैशाख ८ गते न्यायाधीश हरि फुयालको इजलासमा परेर ‘हेर्न नमिल्ने’ भएपछि ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गर्‍यो । 

उक्त आदेशअनुसार म्याद तामेल गर्दा प्रतिवादी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ‘सचिवालय’ लेखिएपछि समस्या भएको थियो । 

त्यसपछि रिट निवेदन सच्याउन अर्को निवेदन हाली वैशाख २१ मा आदेश जारी भएपछि बल्ल म्याद तामेल भएको थियो । त्यसपछि वैशाख २८ देखि पेसीमा चढ्न थालेकोमा लगातार ‘हेर्न नमिल्ने’मा पर्दै आएको थियो । त्यसक्रममा आइतबार न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा राखी सुनुवाइको प्रबन्ध गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको थियो । उक्त आदेशपछि सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको थियो । 

मिसिल पल्टाउँदा न्यायाधीश पाण्डेका आफन्तले छविलाल जोशीको मुद्दामा वकालत गरेको भेटिएपछि सोमबार पनि हेर्न नमिल्नेमा परेको थियो । सातौँपटक हेर्न नमिल्नेमा परेका निवेदन मंगलबार न्यायाधीशद्वय डा. सुवेदी र ढकालको इजलासले टुंग्याएको हो । 

चार सहकारी ठगी मुद्दामा दुई करोड ७९ लाख बुझाइसकेका रविको यो बुटवलस्थित सुप्रिम सहकारी ठगीको मुद्दा हो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा ५४ लाख र बुटवलको सुप्रिम सहकारी ठगीमा एक करोड धरौटीको आदेश पाएका लामिछानेले सबै आदेशमा पुनरावेदन गरेका छन् । 

त्यसमध्ये एक करोड धरौटी हुने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उनले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा ७३ नम्बर निवेदन दिएका थिए । सरकारी वकिलले थुनामा राख्नुपर्ने भन्दै र रविले साधारण तारेख माग्दै दायर निवेदनमा उच्च अदालतले गत चैत २२ मा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । त्यसै दिन लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका थिए । 

त्यसबाहेक उनले पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतको ६५ लाख धरौटीको आदेशविरुद्ध पनि ७३ नम्बर निवेदन लिएर उच्च अदालत पोखरा गएका छन् । उक्त निवेदनमा गत बिहीबारदेखि मुख्य न्यायाधीशसहितको इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएपछि थुनामा रहेका प्रतिवादीलाई जानकारी नदिएको भन्दै वकिलहरूले विरोध जनाएका थिए । त्यसपछि आइतबारदेखि सुनुवाइ स्थगित भएको छ । 

काठमाडौं जिल्ला अदालतको सूर्यदर्शन सहकारीमा ६० लाख धरौटी हुने आदेशविरुद्ध पनि रविले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । यस्तै, चितवनको साहारा चितवन सहकारी ठगी मुद्दामा भएको ५४ लाख धरौटीको आदेशविरुद्ध पनि उनले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका छन् ।

सम्बन्धित समाचार