Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

ईभीको भाडा घटाउन व्यवसायी भए तयार, सरकारले गर्न सकेन निर्णय

ईभीको भाडा घटाउन व्यवसायी भए तयार, सरकारले गर्न सकेन निर्णय

अर्थ प्लस
ईभीको भाडा घटाउन व्यवसायी भए तयार, सरकारले गर्न सकेन निर्णय

काठमाडौं, असार ३ । सार्वजनिक यातायातको रुपमा सञ्चालनमा रहँदै आएको विद्युतीय सवारी साधान (ईभी)ले यात्रुहरुका लागि छुट्टै भाडा दर निर्धारण गर्न तयार भए पनि सरकारले कुनै निर्णय दिन सकेको छैन। 

पेट्रोलियम गाडीको तुलनामा ईभी गाडीको खर्च निकै कम हुने भए भाडा दर सामान लिने गरेको भन्दै विरोध हुन थालेपछि छुट्टै भाडा दर कायम गर्न व्यवसायी तयार भएका थिए। तर, भाडा दर निर्धारण गर्ने अधिकार व्यवसायीको नहुने र त्यसको अधिकार सरकारसँग मात्र हुने गरेको छ।

सोहीअनुसार सरकारले लामो समयदेखि ईभीको छुट्टै भाडा दर निर्धारण गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै निर्णय गरेको छैन। अहिले प्रयोगमा रहेका डिजेल/पेट्रोल गाडी सरह भाडा ईभी गाडीहरूले लिँदै आएका छन्।

देशभर ईभीको प्रयोग बढ्दो अवस्थामा रहेता पनि भाडा दरमा स्पष्टता नहुँदा उपभोक्ता र व्यवसायी दुवैका लागि समस्याको विषय बनेको छ। यातायात व्यवस्था विभागले लामो समयदेखि यस विषयमा अध्ययन गरे पनि ठोस निणर्य नआउँदा व्यवसायी र उपभोक्ताहरु अन्योलमा देखिन्छन्। 

ईभीको भाडा निर्धारण नहुँदा उपभोक्ताले यसको लाभ लिन सकिरहेका छैनन्। ईभी सवारीमा सञ्चालन लागत थोरै भए पनि स्पष्ट नीति नहुँदा व्यवसाय सञ्चालनमा अन्यौलता देखिएको व्यवसायीहरुको भनाइ छ।

" नेपालमा सार्वजनिक विद्युतीय सवारी साधन चलेको लामो समय भए पनि यसका लागि छुट्टै भाडा दर अझै निर्धारण हुन सकेको छैन। "

करिब ६ वर्षदेखि नेपाली सडकमा सार्वजनिक विद्युतीय सवारी साधन चलिरहेको छ। नेपालमा सार्वजनिक विद्युतीय सवारी साधन चलेको लामो समय भए पनि यसका लागि छुट्टै भाडा दर अझै निर्धारण हुन सकेको छैन। सरकारले ईभीको लागि सहुलियत दिँदै आए पनि यसको भाडा डिजेल/पेट्रोल सरह भएकाले धेरै समय पहिलेदेखि ईभीका लागि छुट्टै भाडा दर निर्धारण हुनुपर्ने आवाज उठिरहेको छ। इञ्जिन गाडीको तुलनामा ईभी गाडीको सञ्चालन खर्च कम भए पनि भाडा दर निर्धारण नहुँदा उपभोक्ताले अपेक्षित लाभ लिन सकेका छैनन्।

भाडा दर घटाउने विषयमा सरकार र व्यवसायीबीच आरोप-प्रत्यारोप 

यातायात व्यवसायीहरुले पटक-पटक भाडा निर्धारण गर्न यातायात व्यवस्था विभाग जाँदा पनि भाडा दर निर्धारण नभएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्। ‘हामीले पटक पटक ईभी र डिजेल/पेट्रोल गाडीको लागि छुट्टै भाडा दर निर्धारण गर्न भन्दै आएका छौँ,’ अध्यक्ष थापा भन्छन्, ‘तर, सरकारले आफुले छुट्टै भाडा दर निर्धारण गर्न नसकेका कारण स्टेक होल्डरले नमानेको आरोप लगाइरहेका छन्।,’ डिजेल'पेट्रोल गाडीको तुलनामा ईभीको सञ्चालन खर्च कम हुने भएकाले पनि यसको भाडा कम गर्नुपर्ने उनको भनाइ छ।

‘ईभीमा एक पटक लगानी गरेपछि पाँच वर्षसम्म सेवा दिन सक्छ। यसको मर्मत खर्च, सञ्चालन खर्च कम हुन्छ,’ अध्यक्ष थापाले भने, ‘त्यही हिसाबमा डिजेल/पेट्रोल गाडीको मर्मत खर्च बढी हुन्छ। ईभीमा सरकारले सहुलियत पनि दिएको छ।’

ईभीको पहिलो प्राथमिकता आफ्नै देशबाट उत्पादन भएको विद्युतबाट सञ्चालन हुने सवारी हो। यसमा विदेशबाट डिजेल/पेट्रोल खरिद गरी गाडी सञ्चालन गर्नु पर्दैन। यसले गर्दा देशको ठूलो पैसा बच्ने अध्यक्ष थापा बताउँछन्।

" यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राई ईभीका लागि छुट्टै भाडा दर निर्धारण गर्ने विषय अहिलेसम्म छलफलका क्रमममा रहेको बताए। "

हाल अन्तर प्रदेश चल्ने सवारीको भाडा यातायात व्यवस्था विभाग र कुनै पनि सहरभित्र चल्ने (प्रदेश भर) सार्वजनिक सवारीको भाडा दर सम्बन्धित प्रदेशले निर्धारण गर्छन्। ईभीका लागि छुट्टै नियम नहुँदा इञ्जिन गाडीको भाडा दरमा नेपालमा ईभी सवारी सञ्चालन भइरहेका छन्। 

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमानसिंह राई ईभीका लागि छुट्टै भाडा दर निर्धारण गर्ने विषय अहिलेसम्म छलफलका क्रमममा रहेको बताए। ‘ईभीको लागि छुट्टै भाडा दर निर्धारण गर्ने विषयमा अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन। अहिलेसम्म अध्ययनकै क्रममा छ,’ सूचना अधिकारी राईले भने, ‘यस विषयमा स्टेक होल्डरसँग छलफल पनि भयो। तर, ठोस निर्णय भएको छैन।’ ईभी गाडीको खरिद लागत र मर्मत खर्चले गर्दा भाडा दर उस्तै हुनुपर्ने माग ‘स्टक होल्डर’को आएको उनको भनाइ छ।

‘ईभी गाडीको लागत र मर्मत खर्चले गर्दा लङ रनमा भाडा उस्तै हुन आउँछ भन्ने कुरा स्टेक होल्डरको छ। ईभीको ब्याट्री पार्टसलगायतका कुराहरु महंगो पर्ने भएकाले भाडा दर कम गर्न नहुने तर्क स्टेक होल्डरको आएको छ त्यस कारण विभागले यसमा सुरुवाति चरणको काम मात्र गरिरहेको छ,’ उनले भने।

एउटा उस्तै साइज र क्षमताको इञ्जिन गाडीलाई ५० लाख पर्छ। ईभीलाई डेढ करोड रुपैयाँ बढी पर्छ। ईभीको दैनिक अप्रेसन खर्च १५ सय र इञ्जिनको लगभग ४ हजार हुन्छ। इञ्जिन गाडी मर्मत गर्दा ४/५ लाख खर्च हुन्छ। तर, ईभीमा सहजै पाटपुर्जा मर्मत हुँदैन। ब्याट्री फेर्दा १८/२० लाख पर्छ। सोही कारण ईभी महँगो हुँदा इञ्जिनको भन्दा कम भाडा दर निर्धारण गर्न नहुने तर्क यातायात व्यवसायीहरुको आएको उनको भनाइ छ।

यी आधारमा ईभीको भाडा कम गर्न सकिन्छ

ईभीमा भाडा निर्धारण गर्नका लागि धेरै अध्ययन अनुसन्धान गर्नु नपर्ने सुन्दर यातायातका अध्यक्ष थापा बताउँछन्। ‘सबैभन्दा पहिले सरकारले ईभीका लागि विशेष सुविधा दिनुपर्छ। ईभी नेपालमा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने भएकाले डिजेल पेट्रोल खरिद गर्न विदेशी मुद्रा देश बाहिर पठाउनु पर्दैन,’ थापा भन्छन्, ‘ईभी सञ्चालनमा आफ्नो आन्तरिक देशको पैसाले भुक्तानी गर्न मिल्छ। यो पैसा पनि जोगिने भयो। अर्काे भनेको ईभीले प्रदुषण कम हुन्छ। यो हाम्रो लागि धेरै फाइदाको विषय भयो।’ चार वटा कुरालाई मात्र आधार मानेर विद्युतीय गाडीको भाडा निर्धारण गर्ने हो भने पनि सार्वजनिक ईभीबाट उपभोक्ताले लाभ लिन सक्ने थापाको भनाइ छ।

उदाहरणका लागि अहिले डिजेलको मूल्य १७५ रुपैयाँ छ। डिजेलको १७५ रुपैयाँ परयुनिट मूल्य छ भने त्यो डिजेल गाडी ५ किलोमिटरसम्म जान्छ। त्यसमा मबिलको १० रुपैयाँ, मर्मत खर्च २ रुपैयाँ, बिमा १ रुपैयाँ र अन्य खर्चमा २ रुपैयाँ र फ्युलको ३५ रुपैयाँ जोड्दा यिनीहरुको सम्पूर्ण खर्च ५० रुपैयाँ भयो।

" एक किलोमिटरअनुसार डिजेल/पेट्रोल गाडीले ६० रुपैयाँ खर्च हुँदा विद्युतीय गाडीको ३० रुपैयाँ मात्र खर्च हुन्छ। "

५० रुपैयाँ खर्च हुँदा खर्चको २० प्रतिशत व्यवसायीहरुले ग्राहकबाट लिन पाउँछन्। यसरी हेर्दा डिजेल?पेट्रोल गाडीबाट पर किलोमिटर बराबर व्यवसायीले ६० रुपैयाँ आम्दानी गर्नुपर्छ। ६० रुपैयाँ आम्दानी गर्नका लागि त्यो कति सिटर गाडी हो भन्ने कुरा मुख्य हुन्छ।

एक किलोमिटरअनुसार डिजेल/पेट्रोल गाडीले ६० रुपैयाँ खर्च हुँदा विद्युतीय गाडीको ३० रुपैयाँ मात्र खर्च हुन्छ। डिजेल गाडी एक किलोमिटर ६० पर्छ भने विद्युतीय गाडी बढीमा ३० पर्छ। यसरी हेर्दा पनि ईभीमा २० रुपैयाँ घट्यो। ईभीमा २० रुपैयाँ कम हुँदा आफ्नो ग्राहकलाई १५ रुपैयाँ छुट दिँदा पनि भाडा सस्तो पर्न जान्छ। भाडा कम लिनका लागि यातायात व्यवस्था विभागले निर्धारण गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ।

ईभीको सार्वजनिक यातायातको सुरुवात 

सफा टेम्पोपछि निजी क्षेत्रबाट सुन्दर यातायातले २०७६ भदौ २३ बाट सार्वजनिक ईभी गाडी सञ्चालनमा ल्याएको थियो। सुन्दर यातायात निजी क्षेत्रबाट नेपालमा सार्वजनिक ईभी गाडी चलाउने पहिलो कम्पनी हो। हाल सुन्दर यातायतको सबै ठाउँ र साना ठूला सबै गरी ३८ वटा सार्वजनिक ईभी  सञ्चालनमा छन्। 

सुन्दर यातायातले ठूलोमा ३५ र ४० सिटे बस र सानामा ११ र २० सिटे बस सञ्चालन भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्। काठमाडौं उपत्यकासहित सिन्धुली, रामेछाप, जनकपुर, रुपन्देही, चितवनलगायत ठाउँमा सुन्दर यातायाताका विद्युतीय सवारीले सेवा दिइरहेका छन्।

साझा यातायातले २०७९ असारबाट काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको छ। सुरुमा ३ वटा विद्युतीय बसलाई परीक्षणका रुपमा सडकमा गुडाएको साझाले हाल ४० वटा बस सञ्चालन गरिसकेको छ। हाल नेपालमा सबै सार्वजनिक सवारी साधन गरी ४ देखि ५ हजारको बिचमा सार्वजनिक ईभी सञ्चालनमा भएको थापाको भनाइ छ।

सम्बन्धित समाचार