काठमाडौं। चीनमा निरन्तरको वर्षाका कारण भोटेकोसी नदीमा आएको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ।

आज बिहान करिब ३ः१५ बजे आएको बाढीले मितेरी पुल बगाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो।
टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर केही मालवाहक कन्टेनर बगाएको आशंका गरिएको छ।

हालसम्म मानवीय क्षतिकाे खबर प्राप्त नभए पनि नदीमा पानीको बहाव अझै उच्च भएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन जिल्ला प्रशासनले आग्रह गरेको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सम्पर्क टुटेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।
केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बाहिरी संरचना पूर्ण रूपमा क्षति पुगेको छ।
करिब ३ बजे आएको बाढीले टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा पनि क्षति पुर्याएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

उद्धारका लागि प्रहरी टोली पुगे पनि पानीको सतह नघटेपछि घटनास्थल जान सकेको छैन। अहिले नेपाली सेनासँग समन्वय गरेर हेलिमार्फत उद्धारका लागि छलफल भइरहेको प्रजिअ पौडेलको भनाइ छ।
