Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

१५ वटा लघुवित्तले मात्रै दिए लगानीकर्तालाई लाभांश, हेरौं कसले दिन बाँकी र कसले दिएनन्

१५ वटा लघुवित्तले मात्रै दिए लगानीकर्तालाई लाभांश, हेरौं कसले दिन बाँकी र कसले दिएनन्

अर्थ प्लस
१५ वटा लघुवित्तले मात्रै दिए लगानीकर्तालाई लाभांश,  हेरौं कसले दिन बाँकी  र कसले  दिएनन्

काठमाडौं, चैत १ । कुनै बेलाको हटकेक स्टक रहेका अधिकांश लघुवित्तले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका ४३ लघुवित्तमध्ये २८ लघुवित्तले लगानीकर्ताको हात खाली नै गरेका छन् । 

आर्थिक मन्दीको असर तथा लघुवित्त बिरुद्धकाे आन्दोलनले लघुवित्त मारमा परेका हुन् । प्रवाह भएको ऋणको साँवा र ब्याज समयमा नउठेका कारण खराब कर्जा बढ्न गएपछि अधिकाशं लघुवित लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् । खराब कर्जा बढ्दा कमाएको अधिकांश रकम लघुवित्त कम्पनीले प्रोभिजनमा राख्नु परेकाे छ ।

नेप्सेमा सूचीकृत भएपछि लगातार दुई वर्षसम्म ५० प्रतिशत लाभांश बाँडेको महिला लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश दिएको छैन । हरेक वर्ष आकर्षक लाभांश बाँड्ने फर्वाड लघुवित्त, मिर्मिरे, एनएमबी, नेरुडे लघुवित्तले यसपटक लगानीकर्ताको हात खाली बनाएका छन् । लगानीकर्ताको हात खाली बनाउने अन्य लघुवित्तमा आरम्भ चौतारी, धौलागिरी, गुराँस, गणपति, हिमालयन, इन्फिनिटी, जाल्पा, किसान, कालिका, लक्ष्मी, मेरो, मनकामना स्माट, माहुली, नाडेप, उपकार, उन्नति सहकार्य र विन नेपाल लघुवित्त रहेका छन् । गत वर्ष अधिकांश माइक्रोफाइनान्सले राष्ट्र बैंकले तोकेको सीमामा रहेर २० प्रतिशतसम्म लाभांश बाँडेको भए पनि यस वर्ष भने आधाभन्दा बढी लघुवित्तले लाभांश नबाँड्ने घोषणा गरेका छन् । नेपाल लघुवित्त बैकर्स संघका अनुसार ऋण नतिर्ने आन्दोलन, लघुवित्तको बेस रेट भन्दा मुनि गएर ऋण दिनुपर्ने नीतिगत व्यवस्थाका कारण गत आर्थिक वर्ष लघुवित्त फाइदामा जान नसकेका हुन् ।

लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य रुपमा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने कर्जा रकम संकलन गरेर ग्रामीण क्षेत्रमा खुद्रा कर्जा प्रवाह गर्ने गर्दछ । कर्जा प्रवाह गर्दा लघुवित्तले अधिकतम १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको छ । गत वर्ष तरलता अभावका कारण वाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दर प्रदान गरेका थिए । बैंकहरुले आफ्नो बेस रेटमा केही प्रिमियम थपेर लघुवित्तलाई दिँदा तिनीहरुको लागत नै १५ प्रतिशतभन्दा बढी पर्ने अवस्था थियो । जतिसुकै लागतमा रकम संकलन गरे पनि लघुवित्तले १५ प्रतिशतमै ऋण दिनुपर्ने बाध्यताका कारण गत वर्ष अधिकांश लघुवित्त घाटामा गएका हुन् । त्यसमाथि लघुवित्त क्षेत्रमा फैलिएको आन्दोलनले ऋणीले समयमा साँवा व्याज नतिर्दा झनै समस्या परेको एक लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले बताए ।

विषम परिस्थितिमा पनि केही लघुवित्तले भने राष्ट्र बैंकको सीमामा रहेर लगानीकर्तालाई लाभांश दिएका छन् । अहिलेसम्मको तथ्यांक अनुसार १५ लघुवित्तले लगानीकर्तालाई लाभांश खुवाएका छन् । न्यूनतम ५ दशमलब ४२ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म लघुवित्तले लाभांश घोषणा गरेका छन् । नेसनल, छिमेक, आत्मनिर्भर, साना किसान, फाष्ट माइक्रोफाइनान्स र एनआईसी एसिया लघुवित्तले राष्ट्र बैंकले तोकेको सीमामा अर्थात १५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

सम्बन्धित समाचार