बुधबार, ३२ असार २०८२
मुस्ताङ– उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडक अन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।
गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताए ।
मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्न सक्ने जानकारी दिए । उनले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी पहिरो पन्छ्याउने काम भएको बताए ।
मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बहाव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
