बुधबार, ३२ असार २०८२
काठमाडौँ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।
समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ। सरकारले राष्ट्रिय सभामा पेस गर्ने विधेयकहरू अब पारित गर्न गाह्रो पर्नेछ। किनभने राष्ट्रिय सभामा सत्तापक्षको बहुमत छैन। त्यहाँ ३ जना सांसद रहेको जसपा नेपाल निर्णायक थियो। तर प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाले ६० दिनभित्र पारित नगरे सभामुखले सिधै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक व्यवस्था छ।
जसपा नेपालले एमाले र कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।
