Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै

अर्थ प्लस
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै

शुक्रबार, साउन २, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो ।

अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो । एकताका लागि दुवै पार्टीका शीर्ष नेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो ।
  
नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ । 

नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकीकरणको तयारी पूरा भएको छ । एकतासभाको कार्यसूची तथा नेताहरूको वरीयताक्रम व्यवस्थापन कार्यसम्पन्न भएको हो । 

उक्त सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । 

विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । 

एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ । 

 

सम्बन्धित समाचार