Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

चेक बाउन्स मुद्दामा विशाल भण्डारी दुई पटक पक्राउ, गाडी दुर्घटनाबाट विवाद सुरु

चेक बाउन्स मुद्दामा विशाल भण्डारी दुई पटक पक्राउ, गाडी दुर्घटनाबाट विवाद सुरु

अर्थ प्लस
चेक बाउन्स मुद्दामा विशाल भण्डारी दुई पटक पक्राउ, गाडी दुर्घटनाबाट विवाद सुरु

काठमाडौं। मलेसियामा रहेका नेपाली व्यवसायी हरिप्रसाद भट्टराईले कमेडी च्याम्पियन सिजन ३ र कमेडी नाइट्स विथ च्याम्पियन्स कार्यक्रममा गरेको लगानी फिर्ता नपाएको भन्दै कार्यक्रमका सञ्चालक विशाल भण्डारीविरुद्ध चेक बाउन्सको मुद्दा अदालतमा दायर गरेका छन्।

भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विदेशमा दुःख गरी कमाएको रकम नेपालमै लगानी गर्ने सोचसहित थ्री प्रोडक्सन प्रालिमा एक लाख कित्ता सामान्य सेयर र ५० हजार कित्ता अग्राधिकार सेयर गरी कुल एक लाख ५० हजार कित्तामा व्यक्तिगत लगानी गरेका थिए। उनले उक्त लगानी २०८० सालको कात्तिक १५ गते सहमतिअनुसार गरेको बताएका छन्।

तर, २०८० चैत ८ गते राति कम्पनीका सञ्चालक भण्डारीले मादक पदार्थ सेवन गरी चलाएको गाडी दुर्घटनामा परेको र त्यसपछि भएको सम्पूर्ण खर्च कम्पनीकै नामबाट एकलौटी रूपमा गराएको भट्टराईको आरोप छ। उनले आफूलाई जानकारी नदिई खर्च गरिएको भन्दै आपत्ति जनाउँदै कार्यक्रमबाट अलग हुने निर्णय गरेका थिए।

लगानी फिर्तासम्बन्धी सहमति भए पनि भण्डारीले दिएको चेक खातामा रकम नहुँदा पटक-पटक बाउन्स भएको र अन्ततः काठमाडौं जिल्ला प्रहरी परिसरमा चेक अनादरको उजुरी दिइएको भट्टराईको भनाइ छ। त्यसपछि २०८१ मंसिर ९ गतेसम्म ५० लाख र मंसिर अन्तिमसम्म बाँकी ७० लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वयन नभएपछि उनले अदालतमा चेक बाउन्सको मुद्दा दायर गरेको जानकारी दिएका छन्।

२०८१ माघ १० गते अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै केही समय भण्डारी प्रहरी हिरासतमा बसेका थिए। प्रेस विज्ञप्तिमा भट्टराईले २०८२ साउन ४ गते भण्डारीले फेसबुकमार्फत आफूलाई बदनाम गर्ने र एनआरएनए जस्तो संस्थालाई पनि विवादमा तान्ने गरी स्ट्याटस लेखेकोप्रति आपत्ति जनाएका छन्। 

उनले आफू न्यायिक प्रक्रियामा विश्वास राख्ने व्यक्ति भएको भन्दै अदालतको फैसला पर्खिरहेको अवस्थामा सामाजिक सञ्जाल प्रयोग गरेर बदनाम गरिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे। भट्टराईले न्यायप्रेमी नागरिकलाई सामाजिक सञ्जालमा आएका भ्रामक प्रचारप्रति सजग रहन पनि अनुरोध गरेका छन्।

 

519543073_1089429715861182_7489552020151216047_n-1753013229.jpg

521306338_1647627192601079_959101171633729749_n-1753013229.jpg

521933534_4115908132060091_2616269931971853949_n-1753013229.jpg

522633036_4210612535886672_374888514922562224_n-1753013229.jpg

सम्बन्धित समाचार