Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

आज जनै पूर्णिमा : राखी बाँधेर रक्षाबन्धन मनाइँदै

आज जनै पूर्णिमा : राखी बाँधेर रक्षाबन्धन मनाइँदै

अर्थ प्लस
आज जनै पूर्णिमा :  राखी बाँधेर रक्षाबन्धन मनाइँदै

शनिबार, २४ साउन २०८२

काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी जनै तथा रक्षाबन्धन राखेर तल दिएका मन्त्र उच्चारण गरी सप्तऋषिहरुको स्तुति गरिन्छ ।

त्यसैगरी अन्य १०८ ऋषिहरूलाई सम्झेर वैदिक मन्त्रोच्चारण गर्दै तर्पण दिँदै यज्ञोपवीत (जनै) र रक्षा सूत्रको पूजा गरिन्छ । पूजा गर्दा तपाईँ देवता तथा ऋषिहरू हामीले गरेको पूजा र तर्पणबाट सन्तुष्ट हुनुहोस् र हाम्रो रक्षा गर्नुहोस् भनिन्छ ।

भविष्यपुराणका अनुसार–रक्षाबन्धनमा घरको बीचमा लिपपोत गरेर बेदी तयार गरी ४ दिशामा ४ कलशको स्थापना गर्नुपर्दछ । शुभ मुहूर्तमा गुरु पुरोहितको हातबाट मन्त्रपूर्वक रक्षाबन्धन बाँध्नु पर्दछ ।

क्वाँटीको परम्परा

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।

राखी बाँधेर रक्षाबन्धन मनाइँदै

भारत तथा नेपालको तराई मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धूमधामसाथ मनाइन्छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने प्रचलन रहेको छ ।

मधेसी समुदायमा राखी बाँध्ने प्रचलन भए पनि पछिल्लो समयमा हिमाल, पहाड तथा तराईका सबै समुदायका मानिसहरूले चाडबाडको रूपमा मनाउने गर्दछन् ।

सम्बन्धित समाचार