Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

संयुक्त राष्ट्रद्वारा गाजामा भोकमरी फैलिएको औपचारिक घोषणा : ‘यो मानवताको असफलता

संयुक्त राष्ट्रद्वारा गाजामा भोकमरी फैलिएको औपचारिक घोषणा : ‘यो मानवताको असफलता

अर्थ प्लस
संयुक्त राष्ट्रद्वारा गाजामा भोकमरी फैलिएको औपचारिक घोषणा : ‘यो मानवताको असफलता

गाजा । गाजा सिटी र वरपरका क्षेत्रमा भोकमरी औपचारिक रूपमा फैलिएको संयुक्त राष्ट्र–समर्थित विश्व भोकमरी निगरानी संस्थाले जनाएको छ। उक्त अवस्था निकट भविष्यमा सम्पूर्ण गाजामा फैलिने चेतावनी पनि दिइएको छ।

शुक्रबार इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेशन (आईपीसी) प्रणालीले ५ लाख १४ हजार मानिस, गाजामा रहेका कूल प्यालेस्टिनी जनसङ्ख्याको करिब चौथाइ, अहिले नै भोकमरीको अवस्थामा रहेको जनाएको हो। यो सङ्ख्या सेप्टेम्बरको अन्त्यसम्म ६ लाख ४१ हजार पुग्ने अनुमान गरिएको छ।

२२ महिनादेखि जारी युद्धका कारण इजरायली सेनाले पूर्वाधार, बेकरीलगायत नष्ट गरेको, सहायताको आपूर्ति रोकिएको र खाना खोजिरहेका निहत्था प्यालेस्टिनीलाई आक्रमण गरी मारेको आरोप लगाइएको छ।

अफ्रिका बाहिर औपचारिक रूपमा भोकमरी घोषणा भएको यो पहिलोपटक हो। विश्व समूहले सेप्टेम्बरको अन्त्यसम्म दाएर एल–बाला र खान युनिस जस्ता मध्य र दक्षिणी क्षेत्रमा पनि भोकमरी फैलिने अनुमान गरेको छ।

यस विषयमा विश्व नेताहरू र गैर–सरकारी संस्थाहरूले कडा प्रतिक्रिया जनाएका छन्। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाको भोकमरीलाई ‘मानव निर्मित विपत्ति, नैतिक अभियोग र मानवताको असफलता’ भनेका छन्।

‘भोकमरी केवल खाना नपाउने अवस्था मात्र होइन; यो मानव अस्तित्वका लागि आवश्यक प्रणालीलाई योजनाबद्ध रूपमा ढाल्ने कार्य हो,’ गुटेरेसले भने, ‘मानिस भोकै मरिरहेका छन्। बालबालिकाको ज्यान गइरहेको छ। तर जिम्मेवारी लिनेहरूले केही गरिरहेका छैनन्।’

गुटेरेसले अन्तर्राष्ट्रिय कानुनअनुसार इजरायललाई गाजामा खानेकुरा र औषधि आपूर्ति सुनिश्चित गर्ने ‘स्पष्ट दायित्व’ रहेको बताए।

सम्बन्धित समाचार