Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मेची भन्सारबाट तीन महिनामा १२ अर्ब २८ करोडको मालवस्तु आयात

मेची भन्सारबाट तीन महिनामा १२ अर्ब २८ करोडको मालवस्तु आयात

अर्थ प्लस
मेची भन्सारबाट तीन महिनामा १२ अर्ब २८ करोडको मालवस्तु आयात

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट रु १२ अर्ब २८ करोड ३० लाख बराबरका मालवस्तु आयात भएका छन्।

भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो आयात गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो।

यद्यपि, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात भने घटेको छ। उक्त अवधिमा रु चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। गत आवको सोही अवधिमा रु ६ अर्ब आठ करोड ६९ लाखको वस्तु तथा सामान निर्यात भएको थियो। यसरी निर्यात २१.०८ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाईंले बताए।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिस आदि रहेका छन्। त्यस्तै, आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडा लगायतका वस्तुहरू छन्।

कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८२/८३ को पहिलो त्रैमासिकमा आयात निर्यातबाट रु चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व सङ्कलन भएको छ। यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १५.६९ प्रतिशत अर्थात् रु ५६ करोड २९ लाख ९७ हजारले बढी हो।

सम्बन्धित समाचार