काठमाडौं । मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ। उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो।
मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्र लगायत उपल्लो मुस्ताङका अधिकांश स्थानमा भारी हिमपात भएको छ।
जिल्लाको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहितका क्षेत्रमा भएको हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूलाई असहज भएको छ। हिमपातले गर्दा यात्रा र आवागमनमा प्रभाव परेको छ।
गएको १२ घण्टामा विशेष गरी गण्डकी प्रदेश धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू साथै कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका पहाडी र तराई भू–भागमा हल्का देखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।
त्यस्तै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू(भागमा कार्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्प (एबिसी) मा हल्का हिमपात सुरु भइसकेको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ।जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावित क्षेत्र भएकाले प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आज बेलुकादेखि कार्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प (एबीसी)जान पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ।
