Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नर्भिक अस्पतालका नर्स तथा पारामेडिक्स कर्मचारीहरूलाई एकै आर्थिक वर्षमा दोस्रो पटक तलब वृद्धि

नर्भिक अस्पतालका नर्स तथा पारामेडिक्स कर्मचारीहरूलाई एकै आर्थिक वर्षमा दोस्रो पटक तलब वृद्धि

अर्थ प्लस
नर्भिक अस्पतालका नर्स तथा पारामेडिक्स कर्मचारीहरूलाई एकै आर्थिक वर्षमा दोस्रो पटक तलब वृद्धि

काठमाडौं । एकै आर्थिक वर्षमा दुईपटक तलब वृद्धि भएपछि नर्भिक इन्टरनेसनल अस्पतालका नर्सिङ तथा पारामेडिकल कर्मचारीमा उत्साह छाएको छ। अस्पतालले स्नातक उत्तीर्ण नर्सिङ र पारामेडिकल कर्मचारीको तलब गत साउन र कात्तिकमा गरी दुई चरणमा बढाएको हो।

अस्पतालकी नर्सिङ म्यानेजर सगुन भण्डारीले तलब वृद्धिले कर्मचारीको मनोबल उच्च भएको बताइन्। “नेपालका अन्य निजी अस्पतालको तुलनामा नर्भिकमा नर्सहरूको तलब उच्च छ,” उनले भनिन्, “वर्षमा दुईपटक तलब बढ्दा कामप्रति थप उत्साह जागेको छ।”

साढे दुई वर्षदेखि कार्यरत स्टाफ नर्स तुलसी गिरी जागिर छोड्ने सोचमा थिइन्। तर, दुईपटक तलब वृद्धिपछि उनी नर्भिकमै निरन्तर छिन्। “सम्झौताअनुसार कम्तीमा दुई वर्ष काम गर्नुपर्ने थियो, मैले साढे दुई वर्ष पूरा गर्दै थिएँ। थप अध्ययनका लागि छोड्ने योजना थियो,” उनले भनिन्, “तर लगातार तलब बढेपछि यहीँ राम्रो अवसर देखेर निरन्तरता दिएकी छु।”

नर्सिङ इन्चार्ज सरिता श्रेष्ठका अनुसार तलब वृद्धिसँगै जागिर छोड्ने दर घटेको छ। “एकै वर्षमा दुईपटक तलब बढेपछि कर्मचारीहरू खुसी हुनुहुन्छ, जागिर छोड्ने सोचमा रहेकाहरूले पनि निरन्तरता दिने निर्णय गर्नुभएको छ,” उनले भनिन्।

साउनअघि बीएस्सी/बीएन उत्तीर्ण नर्स तथा पारामेडिकल कर्मचारीको न्यूनतम तलब २५ हजार थियो। साउनबाट ३० हजार र कात्तिकमा पुनः वृद्धि गरी ३७ हजार पुर्‍याइएको छ। देशव्यापी तलब आन्दोलनको सन्दर्भमा अस्पतालले यो निर्णय लिएको हो।

श्रेष्ठका अनुसार निजी अस्पतालमध्ये नर्भिकमा नर्सिङ तथा पारामेडिकल कर्मचारीले सर्वाधिक तलब पाउँछन्। तलब वृद्धिले कार्यक्षमता पनि बढेको छ। रात्रिकालीन, बिदा तथा ओभरटाइम ड्युटीमा अतिरिक्त भत्ता र वार्षिक दुईपटक बोनसको व्यवस्था छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले देशभर तलब मुद्दामा आन्दोलन चलिरहेका बेला नर्भिकले तलब बढाएर कर्मचारीलाई सेवामा प्रोत्साहित गरेको बताए।

सम्बन्धित समाचार