काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसनले बतास हायर पर्चेज (बतास इन्भेष्टमेन्ट) कम्पनी खरिद गरी नन–बैंकिङ फाइनान्सियल कम्पनी (एनबीएफसी) मोडलमा रिटेल फाइनान्सिङ क्षेत्रमा प्रवेश गरेको छ । यो कदमले नेपालमा वैकल्पिक वित्तीय प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
बैंक, बीमा, क्यापिटल र प्राइभेट इक्विटी क्षेत्रमा सफल लगानी गरिसकेको केडिया अर्गनाइजेसनले यसअघि म्यानुफ्याक्चरिङमा ८ र ट्रेडिङमा १ कम्पनीमा लगानी गरेको थियो । अब फाइनान्सियल सेक्टरभित्रै सवारी खरिद फाइनान्स गर्ने हायर पर्चेज कम्पनी खरिद गरी एनबीएफसी मोडलको विस्तार गर्ने महत्वाकांक्षी योजना अघि बढाएको हो ।
एनबीएफसी मोडल किन ?
नेपालमा बैंकिङ पहुँच सीमित छ, विशेष गरी साना तथा मध्यम उद्यम (एमएसएमई) क्षेत्र वित्तीय अभावमा छ । परम्परागत बैंकहरू ठूला कर्जामा केन्द्रित हुने र साना कर्जामा हिचकिचाउने भएकाले साना व्यवसायी तथा उद्यमीहरू वित्तीय सेवाबाट वञ्चित छन् । यस्तो अवस्थामा एनबीएफसी प्रभावकारी विकल्प हुन सक्ने केडिया अर्गनाइजेसनको विश्वास छ ।
केडिया अर्गनाइजेसनका बिजनेस डेभलपमेन्ट डाइरेक्टर सत्यम केडियाले भने, “भारतमा करिब ९७ हजार एनबीएफसीले विभिन्न क्षेत्रमा फाइनान्सिङ सुविधा दिइरहेका छन् र आर्थिक विकासमा योगदान पुर्याएका छन् । हामी पनि त्यही बाटोमा अघि बढ्न चाहन्छौं । रिटेल फाइनान्सको ठूलो खाडल भर्ने उद्देश्यले बतास हायर पर्चेज खरिद गरेका हौं ।”
उनका अनुसार फाइनान्सियल सेक्टरमा उपस्थिति बलियो बनाउने र स्वतन्त्र वित्तीय मोडालिटी कायम गर्ने लक्ष्य छ ।
बतास किन ?
राष्ट्र बैंकबाट इजाजतप्राप्त १० हायर पर्चेज कम्पनीमध्ये बतास पुरानो र स्थापित कम्पनी हो । राष्ट्र बैंकले नयाँ इजाजत नदिएकाले नयाँ कम्पनी खोल्नुभन्दा बतास खरिद गर्ने रणनीतिक निर्णय गरिएको हो ।
“खरिदकर्ता र बिक्रेताको सोच मिल्नुपर्छ । बताससँग हाम्रो सोच मिल्यो । यसलाई अवसर र चुनौती दुवैका रूपमा लिएका छौं,” केडियाले भने । बैंकदेखि इन्स्योरेन्ससम्मको अनुभवलाई उपयोग गर्दै रिटेल फाइनान्समा ग्राहकलाई दैनिक आवश्यकतामा सहज फाइनान्सिङ दिने लक्ष्य छ । बतासलाई ‘गुडविल र बिजनेस म्याचिङ’ का आधारमा खरिद गरिएको हो ।
‘स्मल टिकट साइज’ फाइनान्सिङमा फोकस
परम्परागत हायर पर्चेज कम्पनीहरू गाडीमा सीमित छन् । तर केडिया समूहले साना टिकट साइजका ग्राहकलाई लक्षित गर्दै बतासलाई नयाँ मोडलमा रूपान्तरण गर्दैछ । कम्पनीका सीईओ राजेन्द्रप्रसाद तिमिल्सिनाका अनुसार १५ हजारको मोबाइलदेखि २० लाखको डेन्टल उपकरणसम्म फाइनान्स गरिनेछ, धितोको जटिलतामा नअल्झाई ।
“बैंकहरू साना कर्जामा हिचकिचाउँछन् किनकि प्रशोधन लागत बढी हुन्छ । तर बतासले यही साना कर्जालाई मुख्य फोकस गर्नेछ,” तिमिल्सिनाले भने । यसले एमएसएमई र स्वरोजगार व्यक्तिहरूको जीवनस्तर उकास्ने अपेक्षा छ ।
डिजिटल रूपान्तरण: २० मिनेटमा लोन स्वीकृति
कम्पनीको महत्वाकांक्षी योजना बतासलाई पूर्ण डिजिटल र पेपरलेस बनाउनु हो । “मोबाइल फाइनान्सिङमा २० मिनेटभित्र लोन स्वीकृत गरी सामान हस्तान्तरण गर्नेछौं,” सीईओ तिमिल्सिनाले भने । डिजिटल अनबोर्डिङ, भेरिफिकेशन र वितरणसम्मको प्रक्रिया कागजविहीन हुनेछ ।
छिट्टै मोबाइल एप लन्च हुँदैछ, जसमा ग्राहकले आफैं केवाईसी अपडेट गर्न सक्नेछन् । इ–सेवा जस्ता डिजिटल वालेटसँग जोडेर प्री–अप्रुभल कर्जा सुविधा दिने तयारी छ ।
जोखिम व्यवस्थापनमा प्रविधि
हायर पर्चेजमा उच्च जोखिम हुन्छ तर प्रविधिले यसलाई न्यूनीकरण गरिनेछ । मोबाइलमा लकिङ सफ्टवेयर र सवारीमा स्पीड कन्ट्रोल तथा रिमोट लक जस्ता प्रविधि प्रयोग गरिनेछ । यसले जोखिम घटाउने र ग्राहकलाई कम ब्याजदरमा कर्जा दिन सजिलो हुने कम्पनीको विश्वास छ ।
विस्तारित सेवा र नयाँ उत्पादन
बतास अब अटोमोबाइलमा मात्र सीमित नरही मोबाइल, होम एप्लायन्स र उपभोक्ता सामग्रीमा फाइनान्सिङ गर्नेछ । बी टु बी मोडलमा पनि प्रवेश गर्ने योजना छ । राष्ट्र बैंकसँग ट्राभल प्याकेज फाइनान्सिङ, गोल्ड लोन र बीमा एजेन्टको अनुमति मागिएको छ ।
राष्ट्र बैंकसँग नीतिगत संवाद
राष्ट्र बैंकले हायर पर्चेजलाई सवारी, मेशिनरी र उपकरण खरिदका लागि किस्ताबन्दी कर्जाका रूपमा परिभाषित गरेको छ । तर केडिया ग्रुप एनबीएफसीको दायरा फराकिलो बनाउनुपर्ने पक्षमा छ । साना व्यापार, चिकित्सक उपकरण, स्टार्टअप फर्निचर, सुन धितो जस्ता क्षेत्रमा पनि फाइनान्सिङ गर्न सकिने नीति आवश्यक रहेको कम्पनीले जनाएको छ ।
“एनबीएफसी मोडालिटीमा व्यवसायमैत्री नियमन ल्याए यो दिगो र सफल हुन सक्छ,” केडियाले भने । साना कर्जा, कन्जुमर फाइनान्स र डिजिटल फाइनान्सिङलाई प्रोत्साहन दिन राष्ट्र बैंकसँग नियमित छलफल भइरहेको छ र राष्ट्र बैंक सकारात्मक रहेको कम्पनीले बताएको छ ।
नयाँ ब्रान्डिङसहित पुनः लन्च
हाल बतास पुरानै मोडलमा सञ्चालन भइरहेको छ तर निकट भविष्यमा नयाँ नाम र व्यावसायिक ढाँचासहित पुनः लन्च हुनेछ । “यो कम्पनी अब परम्परागत शैलीमा चल्दैन । पूर्ण एनबीएफसी मोडलमा रूपान्तरण गरी प्रविधिमा ठूलो लगानी गर्दैछौं,” सत्यम केडियाले भने ।
केडिया अर्गनाइजेसनको यो कदमले नेपालको वित्तीय क्षेत्रमा नयाँ युग सुरु गर्ने अपेक्षा छ । भारतमा एनबीएफसीले आर्थिक विकासमा पुर्याएको योगदान जस्तै नेपालमा पनि बैंकिङको पूरक भूमिका खेल्न सक्ने सम्भावना छ । साना व्यवसायी, स्वरोजगार र एमएसएमई क्षेत्रमा वित्तीय समावेशीकरण बढाउन एनबीएफसी महत्वपूर्ण हुन सक्छ भन्ने विश्वास गरिएको छ । यसका लागि राष्ट्र बैंकको स्पष्ट र व्यवसायमैत्री नीति आवश्यक छ ।
