काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भएको छ । निर्वाचन आयोगले सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।मंगलबार निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ ।
दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए ।
उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं । पार्टी पंक्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं ।’
दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न लिन विप्लवलगायत नेताहरू बाजागाजासहित मंगलबार निर्वाचन आयोग पुगेका थिए । चुनाव चिह्न पाएपछि आयोग परिसरभित्रै बाजागाजा र र्याली निकालिएको थियो ।
