काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा सहयोगका लागि नेकपा एमालेका नेताहरूलाई बिहीबार बालुवाटारमा बोलाएकी छन्।
एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी थिए।
एमाले नेता महेश बर्तौलाले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी ओलीमाथि 'स्थान हद' लगाउने विषय उठेकोमा कडा आपत्ति जनाए। उनले मिडिया ट्रायल गरिनु र स्थान हद तोकिनुले नै निष्पक्ष निर्वाचनको वातावरण नबनेको स्पष्ट हुने बताए। उनले यति ठूलो जनमत भएको पार्टी अध्यक्षलाई स्थान हद गरेर निर्वाचन सम्भव नहुने चेतावनी दिए।
एमाले नेताहरूले सरकार गठनको विषय कानुनी प्रश्न भएकाले यसलाई संवैधानिक परीक्षणबाट टुंगो लगाउनुपर्ने र अदालतको आदेश मान्न तयार रहेको बताए। उनीहरूले अहिले निर्वाचनको निष्पक्षता, शान्ति सुरक्षा र भयरहित वातावरण नभएको भन्दै गम्भीर चासो व्यक्त गरे। साथै, निवर्तमान आईजीपीमाथिको स्थान हद, भागेका कैदीबन्दी र लुटिएका हतियारको विषयमा पनि चासो राखिएको थियो।
यसको जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले यी विषयमा चासो राखेको र दलहरूले निर्वाचनमा सहयोग गर्नुपर्ने बताएकी थिइन्।
