काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएका नेपाल प्रहरीका कर्मचारीहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय (जिप्रका) मार्फत भैपरी आउने उपचार खर्च पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले आन्तरिक परिपत्र जारी गर्दै उक्त व्यवस्थाबारे जानकारी गराएको हो।
प्रधान कार्यालयको प्रशासन शाखाले मंसिर ७ गतेको मितिमा चलानी नम्बर ९४५ को पत्रमार्फत उक्त जानकारी दिएको हो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २६ गते नै प्रदर्शनका क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको विवरण माग गरेको थियो।
सोही माग बमोजिम प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित विवरणका आधारमा घाइते कर्मचारीहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत भैपरी खर्चवापतको रकम उपलब्ध गराइने व्यहोरा आन्तरिक परिपत्रमार्फत जानकारी गराइएको छ।
