काठमाडौं। रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी रकम हिनामिना गरेकाे आराेपमा उनीहरुवीरुद्ध आज अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे।
मुद्दा दायर हुनेहरुमा तत्कालीन प्रशासकीय अधिकृत साह, लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारीहरू राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदारद्वय कौशल किशोर चौधरी र छोटेलाल मिश्र तथा सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन्।
उनीहरुले नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जनचेतनामूलक डकुमेन्ट्री निर्माण गर्ने बहानामा नक्कली काम देखाई सरकारी रकम हिनामिना गरेको अख्तियारकाे आरोप छ।
अख्तियारले अनुसन्धानमा नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम र बजेट बिना नै बदनियतपूर्ण ढंगले ‘सरिता फाउन्डेसन’ नामक संस्थालाई डकुमेन्ट्री बनाउन दिएको खुलेको जनाएको छ। सम्झौता विपरीत जनचेतनामूलक सन्देशको साटो नगर प्रमुखको गुणगान गाएको भिडियो बनाएको, सो भिडियो कतै प्रसारण समेत नभएको र नक्कली कागजात खडा गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारले बताएकाे छ।
उनीहरूविरुद्ध ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारले जनाएकाे छ।
