काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको तत्काल राजीनामा माग गर्दै फेरि कडा आन्दोलनको चेतावनी दिएका छन्।
यसअघि कर्मचारीहरूसँग भएको सहमति कार्यान्वयनमा अध्यक्ष श्रेष्ठले कुनै ठोस पहल र समन्वय नगरेको भन्दै उनीहरूले अब बोर्डको सम्पूर्ण कामकाज ठप्प पारेर पुरानै शैलीमा आन्दोलन चर्काउने घोषणा गरेका हुन्।
नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले मंसिर २१ गते (आज) संयुक्त विज्ञप्ति जारी गरी यो निर्णय सार्वजनिक गरेका छन्।
कर्मचारीहरूले ५ बुँदे माग अघि सारेका छन्। मुख्य रूपमा यसअघि खारेज गरिएको कर्मचारी कल्याण तथा सुरक्षण कोषलाई पुनः स्थापना वा समाधान गर्न अर्थमन्त्रीले समन्वय गरिदिने र सोही क्रममा बोर्ड अध्यक्ष श्रेष्ठले पनि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर लामो समय बितिसक्दा पनि कुनै प्रगति नदेखिएकाले कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन्।
सहमति कार्यान्वयनका लागि तीन साता थप समय दिँदा पनि कुनै अग्रसरता नदेखिएपछि दुवै संगठनले ५ दिनभित्र माग पूरा गर्न अन्तिम अल्टिमेटम दिएका छन्। यी मागमध्ये चौथो बुँदा नै अध्यक्ष सन्तोषनारायण श्रेष्ठको तत्काल राजीनामा हो।
५ दिनभित्र माग सम्बोधन नभए सेबोनका सम्पूर्ण कामकारबाही पूर्ण रूपमा बन्द गरी आन्दोलनमा उत्रिने र त्यसले पूँजीबजार, समग्र अर्थतन्त्र, करिब ७० लाख लगानीकर्ता, बजार सहभागी तथा धितोपत्र बजारमार्फत पुँजी परिचालन गर्न चाहने संगठित संस्थाहरूमा पर्ने सम्पूर्ण प्रतिकूल असरको जिम्मेवार अर्थ मन्त्रालय हुने चेतावनी कर्मचारीहरूले दिएका छन्।
विज्ञप्ति यस्तो छः
