Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा , उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा

विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा , उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा

अर्थ प्लस
विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा , उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगेको छ। गत संस्करणमा पुछारमा रहेको लुम्बिनीले यसपटक साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त पक्का गरेको हो। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाएको थियो।

बिहीबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा लुम्बिनीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। जवाफमा विराटनगर किंग्स १७.५ ओभरमा मात्र ९४ रन बनाएर अलआउट भयो।

लुम्बिनीको बलिङ अत्यन्त कसिलो रह्यो। पाँचै बलरले विकेट लिने क्रममा तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले २–२ तथा शेर मल्लले १ विकेट हात पारे। विराटनगरबाट साम हेजलेटले सर्वाधिक ३४, नरेन भट्टले २१ र मार्चेन्ट डी लांगेले १७ रन बनाए पनि बाँकी ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। ओपनर मार्टिन गप्टिल (२), फाफ डु प्लेसिस (३), लोकेश बम (०) र कप्तान सन्दीप लामिछाने (३) समेत सस्तैले निराश बनाए।

लुम्बिनीको ब्याटिङमा डार्सी शर्टले ४१ बलमा ४५ तथा कप्तान रोहित पौडेलले ३० बलमा ३४ रनको महत्वपूर्ण योगदान दिए। यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। निरोसान डिकवेलाले २२ बलमा २९ तथा रुबेन ट्रम्पेलमनले ११ रन जोडे।

विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।

लिग चरणमा विराटनगर दोस्रो र लुम्बिनी चौथो स्थानमा रहेको थियो। एनपीएल २०२५ को फाइनल खेल आगामी मंसिर २७ गते हुनेछ।

सम्बन्धित समाचार