काठमाडौंसहित देशका धेरै भागमा आज पनि मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। घाम राम्रोसँग नलाग्दा चिसोको अनुभूति भइरहेको छ।
आज बिहान काठमाडौंमा पौने ६ बजे न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसमविद् गोविन्द झाले गरेका छन्।
तराईका अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो देखिएको छ। झाका अनुसार शुक्रबार दिनभर हुस्सु र कुहिरो खुलेको थिएन भने हिजो दिउँसो मात्र खुल्न थालेको थियो। आज पनि दिउँसो घाम लागेपछि खुल्ने सम्भावना रहेको उनले बताए। तराईसँगै पहाडी उपत्यकामा पनि हुस्सु र कुहिरो देखिएको छ।
गत तीन दिनदेखि चिसोको अनुभूति बढ्नुको कारण पश्चिमी वायु भएको झाले स्पष्ट पारे। उनका अनुसार ५५ सयदेखि ६ हजार मिटरमाथि बनेको न्यूनचापीय प्रणालीका कारण चिसो हावा प्रवेश गरेको हो। यद्यपि यो प्रणाली शक्तिशाली नभए पनि चिसो ल्याउने प्रभाव देखिएको छ।
झाले भने, “न्यूनचापीय प्रणालीका कारण चिसो हावा आएको हो। तर यसले पानी पार्ने क्षमता भने छैन।” उनका अनुसार आजको तुलनामा भोलि चिसो केही कम हुने अपेक्षा गरिएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि पश्चिमी वायुको प्रभावले चिसो बढेको बताए। उनका अनुसार बादल र हुस्सु थप देखिने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहन्छ।
मौसमविद् विनोद पोखरेलले भने यो पश्चिमी वायु वर्षा गराउन सक्षम नभएको स्पष्ट पारे। उनका अनुसार, “यो हप्तामा वर्षा हुने सम्भावना छैन।”
